पाखा लाग्न थाले कार्की दाजु-भाइ

नेकपा (एमाले)मा झापाका ‘कार्की दाजु-भाइ’ भनेपछि सबैले चिन्छन्। ती हुन् अहिलेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र उनका दाजु एमाले केन्द्रीय सदस्य दीपक कार्की।

दाजु दिपक भूमिगत कालदेखि नै बामपन्थी राजनीतिमा छन्। दुईपटक संविधानसभा सदस्य भए, भाइ हिक्मत भने अहिले मुख्यमन्त्री छन्। आफ्नै राजनीतिक केरियर दाउमा राखेर दीपकले हिक्मतलाई अघि सारेर प्रदेशसभामा सदस्य दुईपटक बनाए।

२०४८ सालदेखि नै एमाले अध्यक्ष तथा केपी शर्मा ओलीले पत्याएका यी दाजु-भाइको अहिले भने बिजोग चर्चा गर्न योग्य नै छ। जिल्ला इञ्चार्ज माग्दै काठमाडाैं ढुक्दै बसेका दीपकलाई ओलीले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इञ्चार्ज बनाइदिए। जिल्ला अध्यक्ष बनिसकेका दीपकलाई त्यो भने ‘खाउँ त दिनभरीको सिकार, नखाउँ त कान्छा बाउको अनुहार’ जस्तै भएको छ।

इञ्चार्ज नपाए ओलीकै सचिवालयमा स्वकीय खाने तयारी गरेका उनलाई जब आफ्नै भजिता तुलसीलाई स्वकीय बनाइदिएपछि लाज छोप्नै मुस्किल परेको छ। कार्की यति कमजोर बन्दै गएकि उनकै राजनीतिक प्रतिस्पर्धी रोमनाथ ओलीलाई झापा इञ्चार्ज बनाइए।

दीपक कार्कीकै कारणले गौरादहमा एमालेका साख: गिराएपछि ओली उनीविरुद्ध आक्रोशित छन्। त्यसो त स्थानीय तहको निर्वाचनमा पार्टीको चुनावी कमाण्ड गर्न नसकेको आरोप लागेका कार्कीलाई तत्काल जिल्ला अधिवेशन गर्न निर्देशन ओलीको थियो।

कार्कीविरूद्ध गौरादहमै गुट तयार भएको छ। जसका कारण पार्टीको नगर अधिवेशनमा उनका उम्मेद्वार गजेन्द्र घिमिरेविरूद्ध उनकै लडाकु-कार्यकर्ता दुर्गा गौतमले चुनौती दिए। युवा संघमा काम गरिसकेका पार्टीको नगर नेतृत्व गरेका गौतम कार्कीविरूद्ध अहिलेको टिमको नेतृत्व गरेका छन्।

यस्तै गौरादहमा उनका समकालीन र कार्की लडेका दुवै निर्वाचनका कमाण्डर योगराज दाहाल कार्कीविरुद्ध ठाडै चुनौती दिइरहेका छन्। त्यसो त गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले त सार्वजानिकस्थलमा दुवै दाजु-भाइको चर्को आलोचना गर्ने गरेका छन्।

विवादित बन्दै कार्की दाजु-भाइ

भाइ हिक्मत मन्त्री भएका बाले भाउजू लिला कट्टेल(दिपककी श्रीमति)ले सञ्चालन गरेको संस्थालाई सेनिटरी प्याड बनाउने उद्योग खोल्ने भनेर १० लाख रुपैयाँ बिनियोजन गरे। तर, न उद्योग खुल्यो न त रकम सदुपयोग भयो। पहिलोपटक मुख्यमन्त्री हुँदा हिक्मत कार्कीले झण्डै ४ करोड रुपैयाँका योजना रकमान्तर गरेर गौरादहका योजनामा पठाएका थिए।

ती सबै योजनामा उनका साझेदार अशोक फुँयलकै हालीमुहाली भयो। उनकै नै समिति बनाए, उनकैले भुक्तानीसमेत लिए। ती योजनामध्ये ४ वटा योजनाका फाइलहरु अख्तियार दुरुपयोग आयोगमा उजुरी परेका छन्। स्रोतकाअनुसार पोखरीको ठेक्काको स्पेसिफेकसन कार्कीका भान्जा नतामा पर्ने ठेकेदारका लागि बनाइएको थियो। तर, अर्कै कम्पनीले ठेक्का पारेपछि भान्जा मामाहरुसँग आक्रोशित भएका थिए।

केही दिनअघि झापा क्षेत्र नम्बर ५ का केही अगुवा कार्यकर्ताहरुसँग प्रधानमन्त्री ओलीले मुख्यमन्त्री कार्कीले काम गर्न नसकेको आरोप लगाएका थिए। ‘दाहोर्याएर तेहर्याएर जिम्मेवारी दिइँदा एउटा देखिने काम गर्न सकेका छैनन्’, ओलीले लुम्बीनीजस्तै कोशीमा विकल्प खोज्न खोजेको हुन सक्ने भेटमा सहभागी एक नेताले भने।

त्यसो त राम राना प्रदेशको अर्थमन्त्री भएपछि ओलीकै निर्देशनमा ताप्लेजुङका तिलकुमार मेन्याङबोलाई दलको उपनेता बनाइएको छ।

ओलीले उनैलाई अघि सार्न सक्ने आंकलनसमेत गरिएको छ।

प्रकाशित मिति: : 2024-08-17 15:52:00

प्रतिकृया दिनुहोस्