मलाई त यस्तो लाग्छ कि गरिखाने वर्गको लागि होइन, ठगी खानेहरुको लागि ल्याइएको हो गणतन्त्र। नत्र गणतन्त्र आएपछिको जनताले पाएको उपलब्धि के हो? गाउँगाउँमा सिंहदरबार ल्याइएको के यस्तै भ्रष्टचार गर्नका लागि हो? गाउँगाउँमा सिंहदरबार भनेको के हो? देशमा तीन तहको सरकार आएपछि हामीलाई फाइदा के भो? यी र यस्तै प्रश्नहरुले आज धेरै जनताको मनमा घोचिरहेको छ।
घर-घरमा अर्थात गाउँगाउँमा सिहंदरबार भन्नुको अर्थ पहिले काठमाडौँमा मात्रै एकीकृत भएको सिंहदरबारबाट दिइएको सेवा अहिले घरघरमा अर्थात गाउँगाउँमा विभाजन गरियो भन्ने होइन र?
तर मलाई यस्तो महसुस भएको छ कि यहाँ त गाउँगाउँमा सिंह आए तर दरबार आएन। यो कस्तो सिंहदरबार हो सरकार?
तपाईं आफैँ एकपटक हेर्नुस् त कहाँ कहाँका जनताको घरमा पुग्यो सिंहदरबार? मेरो आँखाले त आज पनि उस्तैउस्तै देख्छन्, नत्र तपाईं आफैँ भन्नुहोस् साँच्चिकै पुगेकै छन् त ती सोझासिधा गरिब, दिनदुखी जनताका घरघरमा सिहंदरबार?
यस्तैलाई भन्छन् गाउँगाउँमा सिहंदरबार? मेरो विचारमा त यस्तोलाई भन्दैभन्दैन गाउँगाउँ सिंहदरबार। यस्ता गाउँबस्तीमा कसरी सिंहदरबार आयो भनौँ, जहाँका मान्छेहरु आज पनि खाद्यान्न जुटाउन घन्टौँ हिँडिरहेका छन्। खाद्यान्नको अभावमा भोकभोकै बाँचिरहेका छन्।
नेपालजस्तो जलस्रोतको दोस्रो धनी देशमा प्रशस्तै विद्युत उत्पादन क्षमताको सम्भावना हुँदाहुँदै अझैसम्म पनि धेरै बस्तीका मान्छेहरु टुकी र सोलार बत्तीको भरमा बसेका छन्।
फोन गर्नकै लागि अग्लाअग्ला डाँडाकाँडा, रुख, भीर धाएका छन्। घाम लाग्यो भने फोन लाग्छ कि भन्ने गाउँबस्तीहरु पनि छन्।
आज पनि हिमाल, पहाडतिरका विद्यार्थीहरुले स्कुल, कलेज खोज्दै सहर-बजार घुमिरहेका छन्। हिमाल, पहाडतिरका कोही कसैलाई आपत-विपत् परेमा, जटिल बिरामी लागेमा अस्पताल खोज्दै ठूलाठूला सहर-बजार दौडिरहेका छन्।
अस्पतालमै नपुगी कैयौँले अकालमै ज्यान गुमाइरहेका छन्। कतिपय गाउँबस्तीका मान्छेहरुले अझैसम्म पनि बिरामी र सुत्केरी आमालाई डोको, स्टेचरको सहाराले हस्पिटलसम्म पुर्याइरहेका छन्।
कतिपय गाउँबस्तीमा मोटर बाटो पुगेको छैन। त्यहाँका मान्छेले हाम्रो गाउँमा त सडक बाटो नै पुगेको छैन भनी दुखेसो पोखेको सुन्निछ।
धेरै बस्तीहरुमा खानेपानी जुटाउन घन्टौँ हिँड्नुपर्ने बाध्यता छ। आज पनि खानेपानीको अभाव उस्तै भन्ने दृश्य धेरै देखिन्छ।
कतिपय गाउँका जनतालाई हिउँद नलागे पनि हुन्थ्यो भन्नुपर्ने स्थिति छ। किन कि हिउँदमा धेरै पानीका मुहानहरु सुक्ने गर्छन्। खासगरी जनताहरुलाई चाहिएका यी र यस्तै सुविधाहरु होइन र? अनि यी नै सुविधा नपुगेका ठाउँहरुमा सिहंदरबार पुगेको छ भन्न मिल्छ होला र?
मलाई त सुन्दा नि अचम्म लाग्छ। जहाँ अहिलेसम्म मोटर पुगेकै छैन, विद्युतको सुविधा छैन। स्कुल, कलेज, हस्पिटललगायतका सुविधा छैन। इन्टरनेटको त कुरै छोडौँ। फोनले पनि राम्रो काम गर्दैन, अन्य विकासको त झन् के कुरा गरौँ र!
अनि त्यही ठाउँमा गएर सिंहदरबार पुग्यो भनेर ठूलाठूला भाषण छाँट्छन्। यो लाजमर्दो होइन र? सरकार भने तीन तहको छ। जनता भने सुविधा होइन, दुविधामा छन्।
स्थानीय तहमा भ्रष्टाचार मौलाएको छ। जनप्रतिनिधिको कार्यकाल विवादै विवादमा सकिन्छ। न जनप्रतिनिधिका व्यवहार कर्मचारीसँग मिलेको छ, न स्थानीय जनताहरुको लागि केही विकासका काम भएको छ। धेरै स्थानीय तहहरुमा कर्मचारी र प्रतिनिधिको तालमेल नै मिलेको देखिँदैन। यी जनताको लागि काम हुने कुरै भएन।
हिजो गाउँमै सिंहदरबार आयो। अब जनताहरु सबैलाई सुविधा हुन्छ भनेर चुनावमा नारा घन्काउनेहरु आज महाराज नै बनेका छन्, व्यवहार सिंहजस्तै छ। काम भने शून्य जस्तै देखिन्छ। गाउँगाउँका सिंहदरबार यी नै महाराजलाई बस्नको लागि आएको जस्तो लाग्छ। जनताको लागि होइन। नत्र भने जनताका लागि केही गर्नुपर्ने होइन र? आज लाखौँलाख युवाहरु विदेशी भूमिमा पसिनामा बगाउँदै छन् दिनप्रतिदिन हजारौँ हजार युवाहरुले देश छोड्दै छन्।
रोजगारी सिर्जना हुने सम्भावना छैन। भएका उद्योग धन्दा बन्द गराउने नीति नियम बनाइन्छ। युवा पङ्क्तिलाई कुनै राजनीतिज्ञबाट देशमा राम्रो वातावरण सिर्जना हुनसक्छ भन्ने आश छैन। देश छोड्नुपर्ने बाध्यता छ। ब्याचलर डिग्री पढेका विद्यार्थीहरुले देशमा रोजगार पाउँदैन, आफ्नो क्षमताअनुसारको सेवा सुविधा पाउँदैन।
उस्तै भन्ने हो भने आफूले चाहेको जस्तो काम न्यूनतम सेवामा काम गर्छु भन्दा नि पाउँदैन। विदेश पलायनको लाइन छ। विदेश पलायन हुने नेपाली युवाहरूको सङ्ख्या अझै दिनप्रतिदिन बढ्दो क्रममा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन विदेश जानेहरूको लर्को हुन्छ।
अध्ययन, रोजगारी होस् वा भिजिट भिसाको नाममा उतै हराउने होस्, जसरी भए पनि विदेश जाने मनोविज्ञान बढ्दो छ। जसरी भए पनि विदेश जान पाए हुन्थ्यो भन्ने धेरैको मनस्थिति छ। सरकारको यतातिर ध्यान छैन। ‘तैँले लुट्ने, मैले किन लुट्न नपाउने’ भन्ने बारेमा आफ्नै विवाद छ।
खै कसरी गर्ने जनताहरुले यी महाराजहरुको विश्वास? सबैको उस्तै छ चाल। सङ्घ, प्रदेश र स्थानीय सबै तहमा हुने गरेका काममा भ्रष्टाचारै भ्रष्टाचार छ। जनप्रतिनिधिका नाउमा यी महाराजहरुले गरेका गतिविधि न जनताहरु सन्तुष्ट छन्, न यिनीले केही गर्ने नै छन्।
देशको संरचना परिवर्तन भएको पनि धेरै भयो। जे फाइदा भयो अहिलेका जनप्रतिनिधि र तिनका नजिकका नातागोतालाई भयो। एक पटक जसरी हुन्छ नेतृत्वमा पुग्ने, जति सक्यो उति लुट्ने प्रवृत्तिको विकास भएको छ।
एकपटक जसरी हुन्छ नेतृत्वमा पुग्ने, कमाउने अनि रमाउने। आफ्नालाई सुविधासम्पन्न बनाउने, कसैलाई रोजगार दिने, कसैलाई ठेक्का दिने। अरु के कसरी हुन्छ सबै आफ्नैलाई दिने, भएको बजेट जति सबै सक्ने, जतिसक्यो उति हिनामिना गर्ने। अनि यही हो त गणतन्त्र?
जनतालाई सुविधा दिने, जनताको लागि केही काम गर्ने र विकास गर्नेतिर होइन, केही रोजगार खुले आफ्नै छोराछोरी, भाइभतिजालाई अवसर दिने।
भाषणमा ‘गाउँगाउँमा सिंहदरबार गइसकेको छ। संविधान र सङ्घीयता आएको छ। राजतन्त्र जरैबाट फालिएको छ। सुशासन र भ्रष्टाचार अन्त्यमा अर्जुनदृष्टि छ’ भनेर मीठा र चिप्ला भाषणले र नाराले मात्रै देशको मुहार फेरिन्छ त?
यो देशलाई आफ्नै निजी कम्पनी जस्तो बनाउने अभ्यास भइरहेको छ। त्यही पनि जनताको लागि सिहंदबार ल्यायौँ भन्न लाज मानुपर्ने होइन र?
न देशमा क्षमतावान युवापङ्क्ति बस्ने वातावरण मिल्यो, न पढेकालाई रोजगार मिल्यो, न योग्यता क्षमताको कदर भयो। न गरिबले उपचार पाउँछन्, न शिक्षा अनि रोजगार पाउँछन्। अब भन्नुहोस् नेपालमा बस्ने वातावरण केही छ?
यो देशमा बस्नलाई त कुनै पनि पार्टीको पुच्छर हुनुपर्छ। पावर, पहुँच आफ्ना हुनुपर्छ। विचरा गरिब दुखीको आफ्नो कोही छ? आफ्नालाई रोजगारमा राखिन्छ गरिबदुखीका छोराछोरीलाई साइड लगाइन्छ।
हुनेखाने, ठूलाठाला र आफ्ना कार्यकर्ताका छोराछोरीलाई छनोट गरिन्छ। गरिबको छोराछोरीको मेहनतलाई नेपालमा कसले बुझ्छ? कहिले आउँछन् उनीहरुका दिन। कहिले हुन्छ हाम्रा नेतामा सकारात्मक सोचको विकास? अनि कहिले हुन्छ सबैको देश साझा?
कहिले हुन्छ सबैलाई सम्मानपूर्ण व्यवहार ,सबैलाई निष्पक्ष न्याय अनि कहिले हुन्छ चौतर्फी विकास। नेताको आश गर्दागर्दै सबैको बेहाल भइसक्यो । कहिल्यै स्थिर हुँदैनन् हाम्रो देशको सरकार। अनि नेताको भाषण मात्रै हो गाउँगाउँमा सिंहदरबार। देशमा प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र आएको जनताको लागि होइन, जनताको त आजपनि अवस्था उस्तै छ।