नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले नेपाल विद्युत प्राधिकरणले १६ अर्ब छुट दिएपछि सार्वजनिक लेखा समितिले छलफल चलाएको दाबी गरेका छन्।
मंगलबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै लेखा समितिका सभापतिसमेत रहेका पोखरेलले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महालेखाले बेरुजु देखाउँदा देखाउँदै १६ अर्ब छुट दिएपछि बाध्य भएर समितिमा छलफल चलाउनु परेको बताएका हुन्।
सांसद पोखरेलले भने, ‘महालेखा नियन्त्रण कार्यालयले आफ नो ५६ देखि ६१औँसम्मका प्रतिवेदनमा के उल्लेख गरिएको छ भने प्राधिकरणमा २१ अर्ब ८८ करोड बेरुजु बक्यौता देखाएको छ, त्यसबारेमा सरकारले लाल आयोग गठन गरेर सत्यतथ्य खोजिरहेकाे अवस्था थियो, त्योबेला सरकारले नै पहिला काम सकाेस् भनेर समितिमा छलफल चलाइएन।’
पोखरेलले थपे, ‘सरकारले काम गरिरहेको बेला लेखा समितिले हात हाल्नु हुँदैन भनेर मैले रोकिराखेको थिएँ तर जब प्राधिकरणले ६ अर्बमा २ अर्ब बिगो तोकेर ८ अर्बको मात्रै बिल पठाएपछि समितिमा अजेन्डा बनेको हो।’
उनका अनुसार सरकारले काम गरे पनि १६ अर्ब रकम छुट दिएको विषय पत्ता लागेपछि लेखा समिति सक्रिय भएको पोखरेलको भनाई छ।
‘समितिमा गम्भीर खाले उजुरीको चाङ त थियो, सरकारले लाल आयोग बनाएको थियो, नचलाउ भनेपछि नचलाएको हो तर १६ अर्ब छुट दिएपछि सांसदहरुले यो विषय गम्भीर भयो भनेर भनेपछि कुरा उठेको हो।’
उनका अनुसार यस विषय टुंगोमा पुर्याउने गरी छलफल चलिरहेको बताए।