माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्की ज्यू, सर्वप्रथम नमस्कारका साथै क्रान्तिकारी अभिवादन! कुनैबेला तपाईंको समर्थकले आज आलोचनाको पत्र लेखिरहेको छ। जुन परिस्थितिको सिर्जना स्वयं तपाईंले निर्माण गर्नुभएको हो। तपाईंको काम र मुख्यमन्त्री भएर गरिरहेका गतिविधिले यसमा सहयोग गरिरहेको छ।
पछिल्लो समय तपाईं कोशी प्रदेश सरकारको मुख्यमन्त्री बन्नुभएको करिब तीन महिना जति भएको छ। कार्यभार सम्हालेको यतिका समयसम्म प्रदेशमा परिवर्तनको कुनै काम भएको छैन। तपाईंमा नागरिकले जुन परिवर्तनको अभिभारा राखेका थिए, त्यो कहिल्यै पूरा नहुने रहेछ भन्ने भान हुन थालेको छ।
प्रदेशमा व्याप्त राजनीतिक अस्थिरता यसको समस्याका रुपमा आयो होला तर यो मात्रै तपाईंले काम गर्न नसक्नुको जड भने होइन। यतिका समयमा हुनुपर्ने अल्पकालीन कामहरु नहुँदा पनि तपाईंमाथि दिन प्रतिदिन प्रश्न उठिरहेको छ। साँच्चै भन्नुपर्दा, तपाईं नेतृत्वको प्रदेश सरकारबाट नागरिकले खासै परिवर्तनको आशा राखेका छैनन्। मैले त झन त्यो आशा तपाईंले ल्याएको बजेटदेखि नै मारिसकेको छु।
प्रदेश सरकारले चाहने हो भने धेरै काम गर्न सक्छ। जनतामा परिवर्तनको आभास गराउन सक्छ। भौतिक पूर्वाधार, पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि उल्लेख्य काम गर्न सक्छ। तर, तपाईंले किन त्यसतर्फ ध्यान दिइरहनु भएको छैन, त्यो थाहा छैन। पदमा पुग्ने अवसर सधैँ आइरहन्छन् भन्ने हुँदैन। पदमा भएको बेला काम गरेर देखाउनेले मात्रै वाहवाही कमाउँछ र जनताले त्यसलाई नेता मान्छन्। त्यसैले काम गरेर देखाउने ठाउँमा भएको बेला जनताले सधैँ स्मरण गर्नेगरी काम गर्नुपर्छ। काम गर्ने इच्छाशक्ति भएका मान्छे धेरै हुन्छन् तर उनीहरू सबै पदमा पुगेका हुँदैनन्। तपाईंले पाएको अवसर सदुपयोग गर्न जरुरी छ।
तपाईं मुख्यमन्त्री भएदेखि नै प्रदेश राजधानी विराटनगरमा बसेर तपाईंको गतिविधि नजिकैबाट नियालिरहेको छु। मजस्ता परिवर्तनको अपेक्षा गरिरहेका युवा पुस्ताले तपाईंमा धेरै आशा राखेको छ। अझ म तपाईंलाई नेता मानेर हिँडेको एउटा कम्युनिस्ट कार्यकर्ताको त तपाईंमाथि अझ बढी विश्वास र भरोसा थियो। जुन कुरा भ्रम रहेछ भन्ने भान हुँदै गएको छ।
पछिल्लो समय मुख्यमन्त्रीको हैसियतमा तपाईंको सक्रियता उद्घाटन, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा मात्रै सीमित देखियो। जुन लाजमर्दो विषय हो। संघीयताविरुद्ध उठिरहेको आवाजलाई बलियो बनाउन तपाईंहरुले नै मलजल गरिरहनुभएको छ। जेठ मसान्तदेखि असार १५ सम्मको मात्रै गतिविधि हेर्ने हो भने लाजमर्दो छ। यो छोटो समयमा बजेट सक्नका लागि यस्ता मसिना कार्यक्रम अथाह भएका छन् र करोडौँ खर्च भएको छ। यसलाई तपाईंले रोक्नुपर्थ्यो। तर त्यसमा ध्यान दिनुभएन बरु आफैँ प्रमुख अतिथि बनेर त्यस्ता कार्यक्रममा सहभागी बन्नुभयो।
अलिकति बजेटको कुरा गर्न मन लाग्यो। तपाईंले ल्याएको बजेट वितरणमुखी छ। बजेट सीमित नेताको क्षेत्रमा मात्रै केन्द्रित छ। यसले पनि तपाईंको क्षमता प्रस्टै बनाइदिएको छ। कोशी प्रदेश सरकारले यो एक वर्षमा मोटरसाइकल/स्कुटर र चार पांग्रे सवारी खरिदका लागि १५ करोड १ लाख २४ हजार रकम विनियोजन गरेको रहेछ। जुन रातो किताबमा सार्वजनिक भएको छ।
प्रदेशका विपन्न नागरिकहरु आज पनि बिहान खाएपछि बेलुका के खाने भन्ने चिन्तामा हुन्छन्। दैनिक ज्यालादारी गरेर छाक टार्नेको संख्या त धेरै छ। यो सबै कुरा बिर्सिएर सवारी साधनमा करोडौँ खर्च गर्ने तपाईंको नियत के हो? यो प्रश्न आज मनमा उब्जिएको छ। भाषणमा सुशासनका कुरा गर्ने, भ्रष्टाचारको अन्त्य गर्छु भन्नेहरुको यस्तो हर्कतले जनता आजित भएका छन्।
पहिलोपटक तपाईं मुख्यमन्त्री भएको बेला जसरी बेनामे प्रदेशले सरप्राइजका रुपमा नाम पाएको थियो। अहिलेसम्म केवल त्यही एउटा काम बन्यो तपाईंलाई प्रसंशा गर्न सुहाउने। अरु त तपाईंले खासै काम गर्नसक्नुहुन्छ जस्ताे आजसम्म लागेको छैन। भोलिका दिनमा यसको जवाफ तपाईंले कामबाट दिन सक्नुहोस्, शुभकामना!