प्रदेशमा मागेजति मन्त्रालय नपाएपछि देउवासँग रिसायाे शेखर-गगन समूह

Break n Links
Break n Links

केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ समीकरणअनुसार सरकार निर्माण हुनेक्रम चलिरहेको छ। तर, प्रदेशमा नयाँ सरकार गठनका विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ।

सभापति शेरबहादुर देउवाले प्रदेश सरकार गठन र मन्त्रीहरुको नाम सिफारिस गर्नेक्रममा एकलौटी गरेको भन्दै वरिष्ठ नेता डा. शेखर कोइराला समूहले असन्तुष्टि व्यक्त गरेको छ। सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा देउवाले अहिलेसम्म कोइरालासँग कुनै प्रकारको सल्लाह र समन्वय नगरेको इतर समूहका नेताहरुले बताएका छन्।

प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागीताबारे हिजो २०८१ श्रावण ८ गते मंगलबार दिउँसो विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा बृहत अन्तरक्रिया गर्दै अन्य प्रदेशको सरकार गठनमा आफ्नो समूहलाई सल्लाह र समन्वय नगरे देउवाको एकल निर्णय अस्वीकार गर्ने चेतावनी दिएको छ।

डा. कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए। छलफलमा कोशीमा– २ बागमतीमा– ३ गण्डकीमा २, लुम्बिनीमा- २, कर्णालीमा १ र सुदुरपश्चिममा १ जनामन्त्री आफ्नो समूहलाई दिनुपर्ने निष्कर्ष निकालेको थियो।

बैठक सकिएलगत्तै डा. कोइरालाले सभापति देउवालाई फोन गरेर आफ्नो समूहको धारणा सुनाएकाे कोइरालाको निजी सचिवालयले जानकारी दिएको छ। सचिवालय स्रोतले भन्यो, ‘कोइराला–देउवा संवादपछि अहिलेसम्म सभापतिबाट कुनै जवाफ आएको छैन। र, विभिन्न प्रदेशमा भइरहेको सरकार गठनबारे सञ्चार माध्यममा आएका समाचारबाहेक कोइराला पूर्णरुपमा बेखबर हुनुहुन्छ।’

यता कांग्रेसका महामन्त्रीद्वयले सभापति  देउवालाई लिखित ध्यानाकर्षण बुझाउने भएका छन्। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर लिखित रूपमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन्।

महामन्त्रीद्वयले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशीतालाई ख्याल नगरेको‚ विवादित र स्वार्थ बाझिने सांसदहरूलाई मन्त्री बनाएको विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन्।

कोइराला समूहलाई वाइपास गर्दै देउवाले बुधबार बागमती र लुम्बिनीमा नयाँ समीकरण अनुसार गठन भएको सरकारमा एकलौटी रुपमा मन्त्रीहरुको नाम सिफारिस गरेका छन्। बागमती प्रदेशमा कांग्रेस नेता बहादुर सिंह लामाको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनेको छ। भने, लुम्बिनीमा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन भएको छ।

मन्त्री छनाैट सही ढंगले नभएकाे भन्दै पुनले लेखे देउवालाई पत्र

खुमबहादुरका छाेरा अनुरागलाई मन्त्री बन्नबाट राेक्न डिल्लीबहादुर चाैधरीकाे दाैडधुप

प्रकाशित मिति: : 2024-07-25 08:30:00

प्रतिकृया दिनुहोस्