सिमलताल पहिरो: भारतको खोज तथा उद्धार टोली घटनास्थलमा

फाइल तस्विर
फाइल तस्विर

चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशुलीमा खसेको दुई बस र यात्रुको भारतको खोज तथा उद्धार टोलीले खोजी कार्य अघि बढाएको छ।

भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भारतीय टोली सुनौली नाका हुँदै नेपाल आएको हो।

पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका हुन्। उनीहरु सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थलमा सक्रिय हुने प्राधिकरणले जनाएको छ। गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो।

यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशुली नदीमा यात्रु बेपत्ता भएका थिए।

उक्त बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए। भने, ६२ जना बेपत्ता भएका थिए। आजसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा फेला परेको छ। भने, ३९ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन।

प्रकाशित मिति: : 2024-07-20 14:00:00

प्रतिकृया दिनुहोस्