नयाँ संसद भवन निर्माण सन्तोषजनक भएन: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको कामको प्रगति सन्तोषजनक नभएको बताएका छन्।

नयाँ संसद भवनको ठेकेदारसँग कार्य सम्पादन प्रगति विवरणसम्बन्धी छलफलमा उनले आउँदो हिउँदे सत्र सञ्चालन गर्ने लक्ष्य राखेर सामान्य तहसम्मको काम सम्पन्न नगर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा बद्नाम हुने अवस्था आउने बताए।

उनले भने, ‘समग्र हेर्दा यो कामको प्रगति सन्तोषजनक छैन। यसलाई समयमा नै सक्न गम्भीर भएर लाग्नुपर्छ। यसको प्रगतिको निगरानी गर्नको लागि एउटा समिति बनाउने र कार्य प्रगति विवरण लिनेगरी नजाने हो भने काम अगाडि नबढ्ने भयो। आउँदो हिउँदे सत्र सञ्चालन गर्ने लक्ष्य राख्यो भने सामान्य तहसम्म सम्पन्न हुनुपर्छ। होइन भने बद्नाम हुने अवस्था आउनु भएन।’

यसको साथै उनले नयाँ भवन अहिले प्रयोगमा आएको नयाँ प्रविधिको प्रयोग गर्ने हिसाबको निर्माण हुनुपर्ने बताए।

सोही छलफलमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन जस्तो कुरा राष्ट्रिस्तरको परियोजना भएको भन्दै यसको काम अझै तिव्रताका साथ सम्पन्न गर्ने प्रयास गर्ने बताए।

उनले भने, ‘भवन निमार्णमा किन ढिलाई भइरहेको छ। के समस्या छ त्यसको बारेमा जानकारी भए त्यसबारेमा छलफल गर्ने र निर्माणमा आएका अवरोधहरु हटाउन पहल गर्न सक्छौँ। राष्ट्रिस्तरको नै परियोजना हो। म भर्खर आएको छु अब यो काम अझै तिव्रताका साथ सम्पन्न गर्ने प्रयास गर्नेछु।’

उक्त छलफलमा आफ्नो धारणा राख्दैँ राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ संसद भवन २१औँ शताब्दीको प्रविधिसहित सुविधा सम्पन्न हुनुपर्ने बताए।

‘भवन निर्माण सम्पन्न गर्नका लागि समय थप गरेका छौँ। तर त्यसको आधार के हो। अहिले एउटा संसद भवन बनायौँ जनस्तरबाट गाली गर्ने खालको अवस्था भयो भने के हुन्छ? यस विषयलाई पनि सोच्न आवश्यक छ। हामी २१औँ शताब्दीमा छौँ भन्ने अनुभूति दिने खालको प्रविधिहरु पनि भवनमा हुन आवश्यक छ’, उनले भने।

प्रकाशित मिति: : 2024-07-19 14:46:00

प्रतिकृया दिनुहोस्