संस्कृत विश्वविद्यालयका कुलसचिव अधिकारीमाथि किन चल्यो डण्डा?

तस्बिर: माधव अधिकारी
तस्बिर: माधव अधिकारी

विवादै विवादले बदनाम भएको देशकै एकमात्र संस्कृत विश्वविद्लाय ‘नेपाल संस्कृत विश्वविद्यालय’को अनियमितता छताछुल्ल भएको छ। अनियमतिताको तरङ्ग यतिमाथिसम्म पुगेको छ कि त्यो पदाधिकारी तहलाई कार्वाही गर्नुपर्ने अवस्था सृजित भएको छ। 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले कुलसिचव (रजिष्टार) माधव अधिकारीलाई आर्थिक तथा प्रशासनिक अपचलन गरेको भन्दै यही असार २६ गते पदबाट निलम्बन गरेका हुन्। सम्भवत संस्कृत विश्वविद्यालयमा पदाधिकारी तहमा भएको यो पहिलो कारबाही हो। 

यसै पनि विश्वविद्यालय राजनीतिक अखडा भएको छ। यहाँका प्रध्यापक, कर्मचारी, विद्यार्थी सारा स्वार्थकेन्द्रीत राजनीतिमा लिप्त छन्। विश्वविद्यालयमा राजनीतिक स्वार्थ पूर्ती भएन भने महिनौंसम्म तालाबन्दी हुने गर्छ। 

त्यो देखिरहेको पनि छ। अहिले पनि विश्वविद्यालयमा ताला झुण्झिएको छ। विश्वविद्यालयले चार दशकसम्म यो नियति भोग्दैआएको छ। 
यसको सुधारमा कुनै पनि उपकुलपति सक्षम देखिएका छैनन्। तर उपकुलपति लामिछानेले कुलसचिवलाई नै निलम्बन गरेपछि यसको तरङ्ग राजनीतिकवृत्तमा पनि चुलिएको छ। 

अधिकारी किन निलम्बनमा परे?

उनीमाथि विश्वविद्यालयमा नियमविपरीत रजगज गरेको आरोप छ। ‘विश्वविद्यालयको गरिमामा आँच आउने गरी, हानी नोक्सानी हुने कार्य गर्नुभएकाले तपाइलाई कुलसचिवबाट निलम्बन गरिएको छ’, निलम्बन पत्रमा भनिएको छ।  

प्रा.डा. लामिछानेले अधिकारीलाई संस्कृत विश्वविद्यालय (ने.सं.वि) ऐन २०४३ को दफा १६ को उपदफा १० अनुसार निलम्बन गरेका हुन्। निलम्बन गर्नुपूर्व कुलसचिव अधिकारीलाई ५ बुँदे स्पष्टिकरण सोधिएको थियो। 

उनीमाथि बोटानिकल गार्डेन, कर्मचारी शिक्षक आवास, उपकुलपति कार्यालय भवन र दाता स्मारकको भुक्तानीमा अनियमितता गरेको, विश्वविद्यालयको स्रोत साधन प्रयोग गरी विश्वविद्यालयअन्तर्गतको जनता विद्यापीठमा कार्यरत श्रीमति रम्भा अर्याललाई साथमा लिएर आफूखुसी देश विदेशको भ्रमण गरेको, विश्वविद्यालयको नियमविपरीत दुवै जनाले भ्रमण खर्च लिएको, उपकुलपतिले पदीय दुरुपयोग रोक्न निर्देशन दिँदा नमानेको आरोप छ।

यस्तै कार्यकारी परिषद्को बैठकमा आफूभन्दा उपल्लो तहको पदाधिकारी शिक्षाध्यक्षमाथि आक्रमणको प्रयास गरेको, विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयपुस्तिकाको गोपनीयता भङ्ग गरेको, सरुवामा विश्वविद्यालयका उपकुलपतिसँग राय सल्लाह नलिएको उनीमाथि आरोप छ।

सोही विषयमा विश्वविद्यालयले उनलाई स्पष्टिकरण सोधेको भए पनि चित्त बुझ्दो नभएपछि प्रा.डा लामिछानेले अधिकारीलाई पदबाट निलम्बन गरेका हुन्। तर अधिकारी यी कुनै पनि आरोप स्वीकार गर्दैनन्। 

बिएल नेपाली सेवासँगको छोटो कुराकानीमा उनले अब कानुनी उपचार खोज्ने बताए। ‘मलाई निलम्बन गरिएको छ। त्यसको कानुनी उपचारमा जान्छु’, उनले भने। 

अधिकारीमाथि विद्यार्थीले पनि उठाएका थिए अनियमितताको प्रश्न

विश्वविद्यालयका कुलसचिव अधिकारीमाथि आर्थिक अनियमितता गरेको भन्दै विश्वविद्यालयका विद्यार्थीले पनि उठाएका प्रश्न उठाएका थिए। अधिकारी निलम्बन हुनु करिब एक महिनाअघि नै विश्वविद्यालयको विभिन्न ठाउँमा अनियमितता गरेको भन्दै राजीनामा मागेका थिए। 

असार २ गते नेपाल विद्यार्थी संघ, अखिल क्रान्निकारीले तत्काल राजीनामा दिन भनेका थिए। ‘कुलसचिवको अगुवाइमा विभिन्न भवन निर्माण, बोटानिकल गार्डेन र अन्य विभिन्न पक्षमा आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचार भएकाले तत्काल पदबाट राजीनामा दिइ छानिबन गर्न बाटो खोलियोस्’ विद्यार्थी संगठनले भनेका थिए। 

उनीहरू अधिकारीको राजीनामा माग गर्दै सोही दिन विश्वविद्यालमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए।

अधिकारीको बचाउमा एमाले महासचिव पोखरेल

निलम्बनमा परेका कुलसचिव अधिरकारीको निलम्बन फुकुवा गर्न नेकपा एमालेका महासचिव शंकर पोखरेल लागेका छन्। अधिकारी पोखरेलका भान्जा हुन्। भान्जालाई बचाउन पोखेरेलले विश्वविद्यलयका उपकुलपति लामिछानेलाई दबाब दिइरहेको स्रोत बताउँछ। 

‘उहाँ (अधिकारी) कार्वाहीमा परेपछि अप्रत्येक्ष रुपमा उहाँका मामा एमाले महासचिव शंकर पोखेरेलले अप्रत्यक्ष रुपमा दबाब दिइरहनु भएको छ’, स्रोतले भन्यो। पोखेरलले आफै दबाब नदिए पनि एमाले पार्टी केन्द्रीय शिक्षा विभाग प्रमुख गुरु बराललाई लगाएर निलम्बन फुकुवा गर्न दबाब दिइरहेका छन्। 

केन्द्रबाट मात्र होइन, अधिकारीको बचाउमा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य पनि लागेका छन्। अधिकारी आचार्यका दिदी सासुका छोरा हुन्। अध्यक्ष आचार्यले एमाले निकट विद्यार्थी अनेरास्ववियुलाई लगाएर अधिकारीको बचाउमा लागेका छन्। 

आचार्यकै निर्देशनमा अनेरास्ववियुले अधिकारी निलम्बित भएका दोस्रो दिनमा विश्वविद्यालयमा तालाबन्दी गरेको स्रोत दाबी गर्छ। यद्यपि यसअघि असार २ गते नेविसंघ, अखिल क्रान्तिकारीले विश्वविद्यालयमा तालाबन्दी गर्दा अनेरास्ववियुले विरोध गरेको थियो। 

‘एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले आफ्नी दिदी सासुका छोरा (कुलसचिव अधिकारी) निलम्बनमा परेको निर्णयको बिरुद्धमा अनेरास्ववियु लगाएर तालाबन्दी गरेका छन्। जबकि अनेरास्वियुकले शैक्षिक माग राखी नेविसंघ र अखिल क्रान्तिकारीले गरेको तालाबन्दीको बिरुद्धमा बिज्ञप्ति निकालेको थियो’, स्रोतले भन्यो, ‘यो अनेरास्ववियुको दवैद्ध चरित्र रजिष्टार (अधिकारी)लाई बचाउन हो भन्ने प्रष्ट छ।’

प्रकाशित मिति: : 2024-07-16 18:35:00

प्रतिकृया दिनुहोस्