चितनवमा पहिरोमा परी तीन दिनदेखि त्रिशुलीमा दुई बससँगै हराइरहेका ५७ जना नागरिकको खोजीबारे गृहमन्त्रालयको टोलीले अध्ययन गरेको छ।
आइतबार गृहसचिव एकनारायण अर्यालसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत सम्वद्ध निकायका अधिकारीहरूले अध्ययन गरेका हुन्।
अध्ययनका क्रममा उनीहरूले बस दुर्घटना भएको ठाउँ, बस हराइरहेको नदीको हालको अवस्था र खोजीका लागि किन कठिन भइरहेको भन्नेमा उद्धारमा खटिएका गोताखोरहरूसँग जानकारी लिएका थिए।
त्यस समयमा नदी निकै गहिरो रहेको र नदीको बेग पनि तीव्र रहेकाले खोजीका लागि समस्या भएको बुझिएको अध्ययनमै संलग्न रहेका गृहमन्त्रालयका विपद् महाशाखा प्रमुख तथा सरकारले गठन गरेको विपद् कमाण्ड पोष्टका संयोजक डा. भीष्मकुमार भुसालले बताए।
‘नदी निकै गहिरो रहेछ। नदीको करेन्ट (बेग) पनि हाइ (तीव्र) भएकाले गोताखोरहरूलाई समस्या भएको रहेछ’, उनले भने। साथै गृहसचिव अर्यालले बेपत्ताको खोजीका लागि विदेशबाट उपयुक्त प्रविधि ल्याउनका लागि कुरा भइरहेको जानकारी दिएका थिए।
यसैबीच गृहमन्त्रालयले दुर्घटनाको अध्ययनका लागि सोमबार अध्ययन कार्यदल गठन गर्ने तयारी गरेको छ।