बिदाइका क्रममा मन्त्री तामाङले भने- उल्लेख्य काम गर्ने मौका मिल्यो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफ्नो कार्यकालमा केही उल्लेख्य काम गरेको दाबी गरेका छन्।

आइतबार बिदाइका क्रममा उनले नेपाल पर्यटन बोर्डको सदस्यहरुको प्रक्रिया गर्ने समिति नै अवैधानिक हो भनेर प्रश्न उठेको समयमा त्यसलाई वैधानिक हिसाबले प्रक्रिया सुरु गरेर तीनजना बोर्ड सदस्य छनोट गर्ने काम भएको जानकारी गराए।

‘मैले आफ्नो कार्यकालमा केही उल्लेख्य कामहरुको गरेको छु। नेपाल पर्यटन बोर्डको सदस्याहरुको छनोट प्रक्रिया अगाडि बढेको थियो। तर त्यो छनोट गर्ने समिति नै अवैधानिक हो भनेर प्रश्न उठेको समयमा त्यसलाई वैधानिक हिसाबले प्रक्रिया सुरु गरेर तीन जना बोर्ड सदस्य छनोट गर्ने काम भएको छ’, उनले भने, ‘पशुपतिमा दर्शन गर्न आउनेहरुको सुविधाको लागि पशुपतिको चारैवटा ढोका बिहान ४ बजेदेखि ८ बजेसम्म खोल्ने नयाँ निर्णय गरेका छौँ। पशुपति क्षेत्र विकास कोषको कार्यविधि बनाएर कार्यकारी निर्देशक नियुक्ति गर्ने काम भएको छ।’

उनले नेपालमा दर्ता भएको हवाईजहाजको उडानलाई युरोपको आकाशमा लागेको प्रतिबन्ध हटाउनको लागि सुधारका कामहरु सूचारु भएको समेत जानकारी दिए। यसपालीको बजेटमा आफ्नो पहलमा बजेटको दायरा बढाएको पनि उनको दाबी छ।

उनले भने, ‘नेपालमा दर्ता भएको हवाईजहाजको उडानलाई युरोपको आकाशमा लागेको प्रतिबन्ध हटाउनको लागि सुधारका कामहरु सूचारु भएको छ। यसपाली म आएपछि बजेट पनि बढेको छ। बजेट हाम्रो सीमित स्रोत र अन्तरविरोधलाई हल गर्न कोशिस भएको छ। मन्त्री परिवर्तन हुनेबित्तिकै हरेक कर्मचारी परिवर्तन हुने परम्परा राम्रो होइन। सबै कर्मचारी परिवर्तन नहुने हो भने विगतमा बनेका योजनालाई समयानुकूल बनाउँदै जान सकिन्छ।’

मन्त्री तामाङले हरेक मन्त्री र विभागीय प्रमुखले कर्मचारी आफू अनुकुल छ भने राख्ने छैन भने अन्तै पठाउने प्रवृत्तिले समयमा काम नहुने समस्या आएको बताए।

प्रकाशित मिति: : 2024-07-14 16:32:00

प्रतिकृया दिनुहोस्