इजरायली हवाई आक्रमणमा अक्टोबर ७ देखि ‘गाजामा मारिएका प्यालेस्टिनी’हरूको संख्या ३८ हजार नाघेको छ।
त्यस्तै, ८७ हजारभन्दा बढी व्यक्तिहरू घाइते भएका छन्। अधिकांश प्यालेस्टिनीहरूले ‘बाँचुन्जेली याद गर्ने चोट’हरू बोकेका छन्।
गाजा त्यसैपनि सुरक्षित छैन। उनीहरू जहाँ पुगेपनि ‘मृत्यु नै मृत्यु’ भेट्छन्।
गाजामा प्यालेस्टिनीहरूले भोगिरहेको डरलाग्दो परिस्थितिलाई शब्द वा वाक्यमा वर्णन सकिँदैन। त्यहाँ मानिसहरू बाँचिरहेका छैनन्, उनीहरू ‘मुश्किलले बाँचिरहेका’ छन्।
गाजाका बहुसंख्यक मानिसहरूलाई खाना, पानी, औषधिसहित जीवनका आधारभूत कुराहरूको अभाव छ। उनीहरूले शौचालयको लागि आफ्नो पाल नजिकै खाडल खन्ने चलन बढ्दै गएको छ।
गाजाका अस्पतालहरू अस्पतालजस्ता छैन, मुर्दा घरजस्तै छन्। जताततै शवको थुप्रो छ। हवाई आक्रमण तीव्र छ, चारैतिर रुवाबासी छ। स्वास्थ्य सेवा प्रणाली ध्वस्त भएपछि हेपाटाइटिस ‘ए’लगायतका रोगहरूको संक्रमण बढ्दो छ।
गाजाका अस्पताल घाइते मानिसहरूले भरिएका छन्। भर्ना भएकामध्ये धेरैजसो बालबालिकाहरू छन्। उनीहरू अंगभंग भएका छन्।
गाजामा बस्नेहरू कोही पनि ठीकठाक छैनन्। उनीहरू बारम्बार विस्थापनको मार भोग्दैछन्। प्रियजनहरू गुमाउँदा पनि बलियो र लचिलो भएर बाँचिरहेका छन्।
युद्धले तहसनहस बनाएको छ। मानिसहरू सातपटक विस्थापित भइसकेका छन्। इजरायली बमले ध्वस्त पार्दा पनि मन दह्रो बनाएका छन्।
गाजाको आधा जनसंख्या बालबालिका छन्। अक्टोबर ७ देखि हजारौँ नानुबाबुहरू मारिएका छन्। त्यस्तै, हजारौँ घाइते छन्। तीमध्ये धेरै द्वन्द्वको कारण शारीरिक र मानसिक घाउ सदाको लागि बोक्नेछन्।
आश्रयस्थलको अवस्था दयनीय छ। प्यालेस्टिनीहरूको लागि पिउन योग्य पानी छैन। गाजामा आधा पानी र सरसफाइ सुविधा द्वन्द्वको समयमा क्षतिग्रस्त वा नष्ट भएका छन्। वितरण केन्द्रमा पुग्न मानिसहरूले घण्टौँ पैदल हिँड्नुपर्छ।
गाजाको भाग्य र यहाँका जनताको जीवन अनिश्चित छ। तैपनि सहायता कार्यकर्ताहरू असम्भव परिस्थितिहरूमा पनि दिनदिनै बाधाविरुद्ध काम गरिरहेका छन्।