क्रिप्टो कारोबारमा संलग्न भएको अभियोगमा ६ जना पक्राउ

क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। 

कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार विराटनगर महानगरपालिका– १५ स्थित सोहिता कर्णको घरको दोस्रो तला भाडामा लिएर क्रिप्टो कारोबार गरिरहेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका–३ का २० वर्षीय दिपक मण्डल, मोरङको जहदा गाउँपालिका–१ का २५ वर्षीय रन्जित कुमार यादव, विराटनगर–१६ का ३० वर्षीय जनार्दन यादव, २६ वर्षीय सिकिन्दर यादव र सप्तरी नर्घो घर भई विराटनगर-१५ मा डेरा गरी बस्ने ३३ वर्षीय संजिव कुमार मण्डल पक्राउ परेका हुन्। 

दाहालका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट परिचालन भएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट १६ थान मोबाइल, विभिन्न बैंकका एटिएम ४४ थान, भारतीय नम्बरको सिम १३ थान, नेपाली नम्बरको सिम १९ थान, विभिन्न बैंकको चेक २८ थान, विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर १५ थान, मोटरसाइकल ३ थान, इलेक्ट्री फ्रिंङगर प्रिन्ट र १ हजार ६ सय रुपैयाँ नगद बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2024-07-05 19:22:00

प्रतिकृया दिनुहोस्