बेलायतमा आज (बिहीबार) आमचुनाव हुँदैछ।
आज हुने यी निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ। निर्वाचनअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको छ।
बेलायतको यस निर्वाचनमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान गर्न पाउने छन्। यी चुनावहरू बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्सलगायत युनाइटेड किङ्गडमका सबै भागहरूमा हुने छन्। २०२४को आमचुनावको लागि नामाङ्कनको अन्तिम मिति शुक्रबार ७ जुन २०२४ थियो। चुनाव लड्ने उम्मेदवारहरूले मतदानको दिनअघि छ हप्तासम्म आफ्ना दलहरूको लागि प्रचार गर्छन्।
प्रधानमन्त्रीले गत मे २२ मा जुलाई ४लाई आम निर्वाचनको मिति घोषणा गरेका थिए। त्यसको आठ दिनपछि मे ३० गते संसद् विघटन गरिएको थियो।
यो आमनिर्वाचनमा बेलायतको हरेक भागमा १८ वर्ष र सोभन्दा माथिका मानिसहरूले आफ्नो सांसद चयन गर्न मतदान गर्ने छन्। यो मतदान कूल ६५० संसदीय सीटहरूको लागि हुनेछ। छानिएका व्यक्तिले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा पाँच वर्षसम्म निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने छन्।
बेलायतको यो निर्वाचनमा जम्मा ३९२ दल दर्ता भएका छन्। तर, मुख्य प्रतिस्पर्धा ऋषि सुनकको कन्जरभेटिभ र प्रमुख विपक्षी नेता केयर स्टारमरको लेबर पार्टीबीच छ। निर्वाचनअघि गरिएको सर्वेक्षणले संसदमा लेबर पार्टीले भारी बहुमत ल्याउने प्रक्षेपण गरेको छ।
यदि सर्वेक्षण सही साबित भयो भने कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकको १८ महिनाको कार्यकाल समाप्त हुनेछ र बेलायतमा शुक्रबार बिहान १४ वर्षमा पहिलोपटक लेबर पार्टीले देशको जिम्मेवारी लिनेछन्।
बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभले शासन गर्दै आएका छन्। यद्यपि, यी वर्षहरू राजनीतिक र आर्थिक परिप्रेक्ष्यमा उथलपुथलले भरिएका छन। र, पछिल्लो आठ वर्षमा बेलायतमा पाँच कन्जरभेटिभ प्रधानमन्त्री बनेका छन्।
२०२०मा केयर स्टारर लेबर पार्टीको अध्यक्षमा निर्वाचित भए। तर, स्टारमर अध्यक्ष बनेपछि पार्टीले ८५ वर्षमा सबैभन्दा नराम्रो हार बेहोरेको थियो। उनले तत्कालै पार्टीलाई पुनः विजयी बनाउने आफ्नो मिसन घोषणा गरे।
लेबर पार्टीलाई बेलायती राजनीतिको केन्द्रमा फर्काउने र मतदातालाई फराकिलो अपिल गर्ने स्टारमरको प्रयास सफल भएको देखिन्छ। अब चार वर्षपछि ६१ वर्षीय स्टारमरले बेलायतको शीर्ष पदमा कब्जा गर्न सक्ने सर्वेक्षणले देखाएको छ।
- एजेन्सी