एकीकृत समाजवादीले अस्थिर भनेपछि प्रचण्डले दुखाए चित्त

नेकपा माओवादी कन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी)ले अस्थिर भनेकाेमा चित्त दुखाएका छन्।

आइतबारदेखि सुरू भएकाे एकीकृत समाजवादीकाे दशाैँ राष्ट्रिय महाधिवेशनकाे उद्घाटन समारोहलाई सम्बाेधन गर्दै प्रचण्डले अस्थिर भनेकाेमा गुनासाे पाेखेका हुन्।

नेकपा एसले आफ्नाे राजनीतिक दस्तावेजमा प्रचण्ड अस्थिर रहेकाे उल्लेख गरेकाे थियाे। जसकाे खण्डन गर्दै प्रचण्डले आफू अस्थिर नभएकाे भए आजकाे याे व्यवस्था नआउने बताए।

‘मैले तपाईंहरूको दस्तावेज पूरै पढ्न त भ्याएको छैन। तर तपाईंहरूले विभिन्न राजनीतिक दलहरूको मूल्यांकन गर्दा हामीलाई अलि नजिकको मित्र पनि भन्नुभएको छ। साथसाथै अलि बढी अस्थिर भन्नुभएको छ। तपाईंहरूको त्यो भन्ने अधिकारमाथि म प्रश्न उठाउन चाहन्न। हरेक पार्टीले अर्को राजनीतिक दृष्टिकोण आफ्नो बनाउन जरुरी पनि छ’, उनले भने, ‘तपाईंहरू बनाउनूस्, जे बनाउन मन लाग्छ, त्यो तपाईंहरूको अधिकार क्षेत्रको कुरा हो। तर म यति त भन्छु। आज प्रचण्ड अस्तिर नभएकाे भए जनयुद्ध हुने थिएन। शान्ति सम्झाैता हुने थिएन र आजकाे संघीय लाेकतन्त्र आउने थिएन।’

प्रचण्डले कुवमा जमेकाे जस्ताे पानी आफू नभएकाे भन्दै गडगडाहट भएर बग्ने भएकाे बताए।

‘गतिशीलता भनेको के हो? द्वन्द्वात्मक भौतिकवाद, हरेक चिज परिवर्तनको प्रवाहमा हुन्छ प्रक्रियाभन्ने कुरा के हो? किलोजस्तो एक ठाउँमा ठोक्किएर बसिराख्नु मार्क्सवाद हो कि? जमेको पानी पोखरीजस्तो मार्क्सवाद हो कि गडगडाउँदो नदीजस्तो भएर हुर्रिएर बग्ने मार्क्सवाद हो? तपाईं सबैले यो कुरालाई विचार गर्नुपर्छ’, उनले भने।

प्रकाशित मिति: : 2024-06-30 16:16:00

प्रतिकृया दिनुहोस्