‘कमजाेरी बाेकेर नेता बन्न चाहिनँ’ भन्दै रास्वपा प्युठान सभापतिले त्यागे पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्युठानका सभापति रहेका सुमन सुवेदीले पार्टी परित्याग गरेका छन्। उनले कमजाेरी बाकेर पार्टीकाे नेता बनिरहनु उचित नभएकाे भन्दै सामाजिक सञ्जालमार्फत मंगलबार पार्टी परित्यागकाे घाेषणा गरेका हुन्।

‘आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउँन चाहन्छु’, उनले भनेका छन्, ‘आफू जिम्मेवारीमा हुँदा पदको कहीँ कतै पनि दुरुपयोग नहोस् भन्ने कुरामा अत्यन्तै सजक रहेँ, तैपनि कहीँकतै केही कमजोरी भएको भए यहाँहरु सबैसँग माफी माग्न चाहन्छु।’

देश फेरिन जरुरी रहेकाे तर त्यसका लागि पहिला आफूहरु फेरिन जरुरी रहेकाे उनकाे भनाइ छ।

यस्ताे छ, उनकाे घाेषणा:

आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु।

आफू जिम्मेवारीमा हुँदा पदको कहीँकतै पनि दुरुपयोग नहोस् भन्ने कुरामा अत्यन्तै सजक रहेँ। तैपनि, कहीँकतै केही कमजोरी भएको भए यहाँहरु सबैसँग माफी माग्न चाहन्छु।

समाज, मेरो बुझाइ र मेरो स्वभाव कहीँकतै केही समस्या अवश्य छ। त्यसैले मलाई म पार्टीगत राजनीतिको लागि योग्य होइन भन्ने लाग्यो। अझ सानो मान्छेलाई ठुलो पद झन् बेस्सरी भारी भयो। आसन र भाषणमामात्रै रमाउन मनले मानेन।

यस दौरान केही आशा गरेर गुनासो गर्नेहरु थुप्रै भेटिनुभयो, मैले कसैको पनि गुनासो सुन्ने बाहेक केही गर्न सकिनँ। यो नै मेरो सबैभन्दा ठुलो कमजोरी रह्यो। यो कमजोरी बोकेर म पार्टीको नेता बन्न चाहिनँ।

अब धेरै साथीहरुलाई लाग्ला राजनीतिमा प्रगति गर्न धैर्यता चाहिन्छ भनेर आफ्नो प्रगति र उन्नतिको लागि राजनीतिक पार्टीको प्रयोग सबैभन्दा ठुलो बेइमानी हो। हामीले आफ्ना लागि केही मागेकै छैनौँ भने धैर्यताको कुनै जरुरी छैन। बस् देश फेरिनु जरुरी छ, त्यसका लागि हामी फेरिनु आवश्यक छ। फरक देखिन र बोल्न सिकेर होइन फरक र सकारात्मक कर्मको अभ्यासले देश सिंगार्नु जरुरी छ।

सकारात्मक परिवर्तनको पक्षमा निरन्तर लाग्नुहुने सम्पूर्णमा हार्दिक सम्मान र समर्थन।

जय देश।।।

प्रकाशित मिति: : 2024-06-25 21:27:00

प्रतिकृया दिनुहोस्