रामेछाप काँग्रेस झडप प्रकरण: ३ जना पक्राउ, कहाँ पुग्यो अनुसन्धान?

रामेछाप काँग्रेसभित्र एक महिनाअघि भएको झडप प्रकरणमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीर बहादुर तामाङ (महासमिति सदस्य), जित बहादुरमगर (बागमती प्रदेश समिति) र चन्द्र थापा मगर (नेविसं केन्द्रीय सदस्य) रहेका छन्। 

तामाङ दुई हप्ता अघि पक्राउ परेका थिए भने जितबहादुर र चन्द्र थापा शुक्रबार (जेठ ७ गते) काठमाडौँबाट पक्राउ परेका हुन्। काठमाडौँमा पक्राउ परेका दुवै जनालाई रामेछाप प्रहरीमा पठाइएको छ। 

जेठ ५ गते काँग्रेस निकट लोकतान्त्रिक आदीवासी जनजाती महासंघको प्रथम जिल्ला अधिवेशनका समयमा विवाद हुँदा झडप भएको थियो। दुई पक्षबीचको विवादका समयमा झडप हुँदा दर्जन बढी घाइते भएका थिए।  

त्यसपछि दुवैपक्षले प्रहरीमा जाहेरी दिएको र अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी उपरीक्षक कौशल न्यौपानेले जानकारी दिए। 

अनुसन्धानका क्रममा ३ जनालाई पक्राउ गरेर हिरासतमा राखिएको र अनुसन्धान भइरहेको न्यौपानेले बताए। उनकाअनुसार घटनामा संलग्न अन्य फरार केही व्यक्तिको खोजी भइरहेको छ। 

अधिवेशन रामेछापको खाँडादेवी गाउँपालिका ७ मा भएको थियो। अधिवेशनमा आसन ग्रहरणका समयमा वरीयताक्रममा विवाद हुँदा झडप भएको काँग्रेस नेताहरू बताउँछन्। 

विवाद भएको एक महिनासम्म पनि प्रहरीले घटना भने मिलाउन सकेको छैन। जाहेरीपछि गाउँमै भएका ठुला नेतालाई पक्राउ नगरेर नेविसंघका युवाहरूलाई मात्र प्रहरीले पक्राउ गरेको नेताहरू आरोप लगाउँछन्। 

एक महिनासम्म घटना किन मिल्न नसकेको भन्नेमा काँग्रेसका नेताहरू जिल्लाका ठुला नेताहरूको दबाबले प्रहरी घटना छानबिनमा अघि बढ्न नसकेको बताउँछन्। 

प्रकाशित मिति: : 2024-06-22 18:57:00

प्रतिकृया दिनुहोस्