सन्तानकाे स्वास्थ्य बिगार्न दिने हाे ?

Break n Links
Break n Links

चाउचाउ केक, चाउमिन (मैदाले बनेको), जङ्‌क फुड हो। यसको अर्थ पत्रु खाना अर्थात् ‘काम नलाग्ने, बेकारको’ वा ‘अस्वस्थकर खाना’ भन्ने हो।

जङ्‌क फुड शब्द अमेरिकामा सन् १९७२ देखि प्रचलनमा आएको हो। सन् २००२ मा पाउल जोनसोन र केनीले गरेको अध्ययनअनुसार जङ्‌क फुडले मष्तिस्कमा पनि नकारात्मक असर गर्छ। यसले स्वास्थ्यलाई किमार्थ राम्रो गर्दैन। मैदालाई त्यसै पनि मन्द विष भन्ने गरिन्छ।

चाउचाउ मैदाले बनेको हुन्छ। खाद्य वैज्ञानिकहरूका अनुसार मैदा बनाउन बेन्जोइल पेरोअक्साइड नामक रसायन प्रयोग गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि घातक मानिन्छ। यो क्यान्सरसमेतको कारण बन्न सक्छ।

त्यसपछि स्वादिलो बनाउन र सड्न नदिन चाउचाउमा मिसाइएको अजिनोमोटोलगायत रासायनिक पदार्थले हाम्रो मुटुसहित शरीरका विभिन्न अङ्गमा समस्या ल्याउँछ। 

केटाकेटीले चाउचाउजस्ता जङ्‌क फुड धेरै खाँदा कुपोषणको समस्या पनि हुने गरेको छ। यस्ता खाना खाने बानी परेपछि घरमा बनाइएका अरु खाना खान मन नलाग्ने हुन्छ। तथापि हामी आफ्ना बालबच्चालाई चाउचाउ दिन छाडेका छैनौँ। किनकि, यसले हाम्रो समय जोगाउँछ भने शरीरमा तत्कालै प्रतिक्रिया जनाउँदैन। र, उत्निखेरै असर नगरिहाल्ने खानेकुरासँग हामी खासै डराउँदैनौँ।

तर, बेलैमा सचेत हुनुहोस्, तपाईंले खासै ख्याल नगरेको चाउचाउ खाजाले तपाईंका केटाकेटीलाई गम्भीर स्वास्थ्य समस्यातिर लगिरहेको हुन सक्छ।

केही वर्षअघि अछाम मंगलसेनको अस्पतालमा स्वास्थ्यकर्मीहरूसँग छलफल थियो। त्यहाँ उनीहरूले खाजाको प्रस्ताव गरे। हाम्रो ध्यान स्थानीय उत्पादनतिर गएको थियो तर उनीहरूले  'लौ खाऔँ तातोतातो चाउचाउ’ भन्दै ल्याएर राखिदिए। पकाएको चाउचाउको वाफसँगै आउने अजिनोमोटोको गन्धलाई त्यहाँका जनस्वास्थ्य अधिकृतले भने 'आहा कस्तो मीठो बास्ना ल खाऔँ,' भनेको सुन्दा छक्क परियो।

अस्पतालका कर्मचारीले नै सजिलोका लागि यस्ता जङ्‌क फुड खाने गरेको बुझियो। अछामकै तत्कालीन चण्डिका गाविसकी एक बालिका आमाको दूध चुस्दै थिइन्। तीन वर्षकी उनी एक वर्षकी जस्तै सानी थिइन्। हिँड्न नसक्ने उनको कपाल पनि अति खैरो थियो।

‘यो त कुपोषण भएकोजस्तै छ, के ख्वाउनुहुन्छ ? तीन वर्षकी बालिकालाई दूध चुसाउनुपर्छ र ?’ उनले भने ती महिलाले जवाफ दिइन्, ‘त्यही त तीन वर्षको उमेरमा दूध चुसाइरहनुपरेको छ। चाउचाउ र बिस्कुटबाहेक अरु केही खाँदिन।’ उनको कुरा साँच्चै अत्यासलाग्दो थियो।

तीन वर्ष पुगे पनि बालिका राम्ररी बोल्न सक्दिनन्, हिँड्न सक्दिनन्। तिनलाई त रक्तअल्पता (रगतको कमी) पनि भइसकेको रहेछ।‘यसरी चाउचाउ मात्र खुवाउनुभयो भने पछि बढ्न पनि सक्दिनन्, राम्ररी पढ्न पनि सक्दिनन्’, हाम्रो चेतावनी सुनेर उनी निराश बनिन्।

प्रकाशित मिति: : 2024-06-24 21:15:00

प्रतिकृया दिनुहोस्