हिरासतमै प्रहरीलाई थर्काउँछिन् शोभा पाठक, भन्छिन्- हुनेवाला मन्त्रीलाई थुन्ने? मैले जानेकी छु…

Break n Links
Break n Links

नेकपा एमालेका नेता महेश बस्नेतको ‘सम्बन्ध’सँगै चर्चामा आएकी शोभा पाठक अहिले प्रहरी हिरासतमा छिन्। लामो समयदेखिको गोप्य सम्बन्ध बाहिर आएपछि तनावमा रहेका यी दुईले एकअर्काको चरित्र हत्या गरेको आरोप प्रत्यारोप चर्किएको थियो।

एकअर्काविरुद्ध प्रहरीमा समेत पुगेका उनीहरूमध्ये अहिले भने शोभा समातिइन्। यसअघि उनै शोभा पाठकले पनि महेशविरुद्ध उजुरी दिएकी थिइन्। तर प्रहरीले प्रमाण नपुगेको भन्दै तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँलाई सिफारिस गरेको थियो।

पाठक एमालेको भ्रातृ संगठन युवा संघको केन्द्रीय सदस्यसमेत हुन्। हिरासतमा रहेकी पाठकले भने त्यहाँ नै प्रहरीलाई थर्काउँदै हैरान पारेकी छिन्। जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पुलचोकबाट पक्राउ गरेको थियो। अदालतबाट ५ दिनको म्याद थपेर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।

हिरासतमै रहेकी पाठकले आफूलाई ‘भविष्यको मन्त्री’ भन्दै आफूलाई थुन्ने प्रहरीलाई ०८४ मा ‘देखाइदिने’ धम्की दिइरहेकी छिन्।

प्रहरी स्रोतका अनुसार उनले आफूमाथि अनुसन्धान गरिरहेका प्रहरी अधिकारीलाई ०८४ को चुनावपछि आफू मन्त्री भएपछि प्रहरीलाई उल्टै थुन्ने धम्की पनि दिने गरेकी छिन्।

‘म ०८४ को भावी मन्त्री हुँ। मलाई थुन्ने…, मैले जानेको छु तिमीहरूलाई… भन्दै थर्काउनुहुन्छ’, अनुसन्धानमा खटिएका एकजना अधिकारी भन्छन्, ‘अनुसन्धानलाई प्रभाव पार्ने हिसाबले उहाँले थर्काइरहनुभएको छ।’ अहिले उनी प्रहरी वृत्त मालीगाउँको हिरासतमा छिन्।

पाठक र बस्नेत लामो समय ‘गोप्य सम्बन्ध’मा थिए। सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा समेत उनीहरूको सम्बन्धबारे खुलासा भएपछि दुबैबीचको ‘सम्बन्ध’मा तनाव थियो।

योबीचमा पाठकले बस्नेतविरुद्ध भ्रूण हत्या, बलात्कार र डाँका चोरीलगायतका आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्। तर यो मुद्दामा प्रहरीले बस्नेतलाई पक्राउ गर्नका लागि प्रमाणहरू पर्याप्त नभएको भन्यो।

यसपछि बस्नेत र उनका आफन्तहरूले पाठकविद्ध ‘चरित्र हत्या’ गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी गरेका थिए। त्यही उजुरीको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नुअघि उनले बस्नेतसँगका गोप्य तस्विरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। उनको मोबाइलमा प्रहरीले देशका अरु पनि कैयौँ ‘भिआइपी’हरूसँग खिचिएका तस्विरहरू भेटाएको छ।

प्रकाशित मिति: : 2024-06-13 19:55:00

प्रतिकृया दिनुहोस्