राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल खाेल्न सरकारकाे ध्यानाकर्षण गरेका छन्।
मंगलबारकाे प्रतिनिधिसभाकाे बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले गिरीबन्धु प्रकरणको फाइल खाेल्न गृहमन्त्री रवि लामिछानेलाई ध्यानाकर्षण गरेका हुन्।
सांसद शाहीले गिरीबन्धु स्टेट, टेरामेक्स, मेलञ्ची, फोरजी, वाइडबडीलगायतका ठूला अनियमितताका फाइल कहिले खुल्छ भन्दै प्रश्न गरे।
उनले जीबी राई ठुलो कि सरकार ठुलो भन्दै अहिले जीबी राई ठुलो देखिएको बताउँदै उनले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप लगाए। उनले जीबी राईलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।
उनले भने, 'आकासमा भए पनि पातालमा भए पनि जीबी राईलाई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो, कहिले ल्याउनुहुन्छ, हामीले हेरेर बसेका छौँ।'
सांसद शाहीले निर्मला पन्तका हत्याराको कहिले पत्ता लाग्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरे।
उनले हालै प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले गरेको भारतको भ्रमणका क्रममा उनलाई आवश्यकताअनुसारको सम्मान नभएको टिप्पणी गरे।