सप्तपाताल पोखरी पुनर्निर्माण सुरू

४५ रोपनी जमिनमा पार्क र पोखरी ललितपुरको ऐतिहासिक लिच्छविकालीन सप्तपाताल पोखरी र सँगैका दुईवटा पोखरीको पूनर्निर्माण अघि बढाइएको छ। पहिलो चरण अन्तर्गत पोखरी वरिपरि हरियो पारदर्शी वार लगाइएको थियो भने दोस्रो चरणमा पोखरी खन्ने काम भइरहेको छ।

तेस्रो चरण अन्तर्गत पोखरीको राजकूलोबाट पानी ल्याउने र कमलको फूल फुलाउने योजना रहेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए।

तीन वटा पोखरीको क्षेत्रफल ४५ रोपनी हुनेछ। पोखरीसँगै पार्क बनाउने योजना महानगरको छ। पोखरी पुनर्भरणका लागि टिकाभैरब राजकुलोको पानी ल्याइने छ। 

ढोलाहिटीसम्म आइपुगेको राजकुलो पोखरीमा ल्याउनका लागि चक्रपथ सडक खन्नुपर्छ। चक्रपथ सडक खन्नका लागि सडक विभागले अनुमति दिइसकेको छ। लगनखेलस्थित नमूना मच्छिन्द्र स्कूलले पोखरीको ११२ नम्बर कित्ता जग्गा लामो समयदेखि प्रयोग गर्दै आइरहेको थियो।

तर, २०७६ सालमा सर्वोच्च अदालतले पोखरीको पक्ष निर्णय गरेपछि पोखरी निर्माणको काम अघि बढाउन सहज भएको थियो। लगनखेलका स्थानीयबासी तथा सप्तपाताल बचाउ अभियन्तता  पूर्ण स्थापितले पोखरी अतिक्रमण रोक्न २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए।

सर्वोच्चको अदालत फैसलासँगै सप्तपाताल पोखरी पुनर्निर्माणको काम सुरु भएको थियो। महानगरका इन्जिनियर प्रदीप पौडेलले साँढे दुई वर्षभित्र पोखरी सहितको पार्क निर्माण सम्पन्न हुने बताए। 

प्रकाशित मिति: : 2024-06-07 15:20:00

प्रतिकृया दिनुहोस्