मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सिंह नियुक्त

Break n Links
Break n Links

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थनसहित दाबी परेपछि सिंहलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा शुक्रबार बिहान दाबी पेस गरेका थिए।

मधेसमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका नौ, एकीकृत समाजवादीका सात र नागरिक उन्मुक्ति पार्टीका एक गरी ५४ जना प्रदेशसभा सदस्यको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस भएको थियाे।

जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी थिइन्।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी थिइन्।

सिंह सप्तरी निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित हुन्। यसअघि उनी २०७४ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष निर्वाचित भएको थिए। त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतबाट उम्मेदवार भई प्रदेशसभा सदस्य भएका थिए।

प्रकाशित मिति: : 2024-06-07 12:12:00

प्रतिकृया दिनुहोस्