मोदीको ‘सपथ’ हेर्न को-को पुग्दैछन् भारत?

Break n Links
Break n Links

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको सुरुवात भव्य देखाउने तयारी गरेका छन्। सन् २०१४ देखि लगातार भारतीय सरकारको नेतृत्व गर्दै आएका मोदीको पार्टी भारतीय जनता पार्टी र उसका सहयोगी दलहरू मिलेर बहुमत पाएका छन्। 

आगामी आइतबार हुने भनिएको तेस्रो कार्यकालका लागि सपथ ग्रहण कार्यक्रममा उनले छिमेकीलगायत अरु पनि देशका समकक्षीहरू बोलाएका छन्।  

नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उनको सत्तारोहण समारोहमा जाने तय भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई अनुमोदन गरेको छ। 

चार सय पारको नारा लिएर १८ औं लोकसभा निर्वाचनमा उत्रिएको बिजेपीले यसपालि भने ३ सय पनि कटाउन सकेन। उनलाई चुनौती दिनका लागि विपक्षी भारतीय राष्ट्रिय कंग्रेसलगायतको ‘इन्डिया’ गठबन्धनले उनलाई ३ सय मुनिकै सिटमा सिमित गरिदियो। तर बिजेपीका सहयोगी दलहरूको समेत मिलाउँदा बहुमत भने पुग्छ। उनीहरूलाई नै सत्ताको सहयोगी बनाएर मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुँदैछन्। 

यो कार्यकालको भव्यता प्रदर्शन गर्न उनले छिमेकी देशका समकक्षीहरूलाई आफ्नो सपथ समोरह देखाउन चाहेका हुन्। 

मोदीको यो सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्गेलगायत नेताले सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो स्वीकार गरेका छन्। 

प्रधानमन्त्री दाहाल र हसिना दुवैले यस अघि भारतीय प्रधानमन्त्री मोदीलाई १८ औँ लोकसभा चुनावमा एनडिएको विजयका लागि लागि टेलिफोन र सामाजिक सञ्जालमार्फत बधाई पनि दिएका थिए।

प्रधानमन्त्री मोदी र नेपाली प्रधानमन्त्री दाहालसँग फोनमा शुभकामना प्रदान तथा शपथ ग्रहणमा निमन्त्रणाको कुरा भएको थियो। कुराकानीमा शपथ ग्रहण समारोहमा सहभागिताको पुष्टि गरिएको थियो। 

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाका राजनीतिक सहयोगी एम नजरुल इस्लामले प्रधानमन्त्री हसिना प्रधानमन्त्री नरेन्द्र मोदीबाट निमन्त्रणा प्राप्त गरेपछि शपथ ग्रहण समारोहमा भाग लिने कार्यक्रम तय भइसकेको बताएकी छन्। 

बङ्गलादेशकी प्रधानमन्त्री हसिना शनिबार दिउँसो विशेष उडानमा ढाकाबाट प्रस्थान गरी जुन ९ को दिउँसोसम्म राजधानी दिल्लीमा रहनेछिन्। 

समारोहको साइडलाइनमा द्विपक्षीय बैठकको सम्भावनाबारेमा सोधिएको प्रश्नमा इस्लामले बैठकको पुष्टि हुन नसकेको बताएका छन्। 

हसिनाले भर्खरै बङ्गलादेशको राष्ट्रिय चुनावमा विजय प्राप्त गरेपछि बङ्गलादेश र भारतबीचको बलियो सम्बन्धलाई जोड दिँदै भारत परीक्षित र वफादार छिमेकी भएकोले  भारत र बङ्लादेशबीच राम्रो सम्बन्ध भएको उल्लेख गरेकी छिन्।

सन् २०२४ को लोकसभा चुनावको मतगणना मङ्गलबार सम्पन्न भएको थियो। भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले २४० सिट जितेको छ, जुन सन् २०१९मा भाजपा एक्लैले ल्याएको ३०३ सिटभन्दा निकै कम हो र यसले सरकार गठनका लागि गठबन्धनको सहयोग आवश्यक हुनेछ।

अर्कोतर्फ, मुख्य विपक्षी काङ्ग्रेसले सन् २०१९ को चुनावमा ५२ सिट जितेकोमा हाल ९९ सिट जितेर संसद्मा विपक्षी स्वरलाई सशक्त बनाउने सुनिश्चितता गरेको छ। 

प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ९ मा लगातार तेस्रो कार्यकालका लागि शपथ लिनेछन्। 

राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका दलका नेताहरूले बुधबार बैठक गरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो नेताका रूपमा चुनेका छन्। पछि प्रधानमन्त्री मोदीले विकसित भारत निर्माणका लागि एनडिएले काम गर्ने प्रतिवद्धता गरेका छन्।

यो चुनावमा गतिलो प्रदर्शन गर्न नसकेको भन्दै बिजेपी र मोदीको आलोचना पनि भइरहेको छ। यसअघिको चुनावमा एक्लै बहुमत पुर्‍याएको बिजेपीलाई यसपालि सरकार बनाउन अरु पनि दलको साहारा लिनुपर्‍यो।

बिजेपीको गठबन्धनमा रहेका नितिश कुमार र चन्द्रबाबु नायडुले सहायता लिएका छन्। नायडुको पार्टी भने सरकारमा जाने छैन र अहिलेसम्म बाहिरै बसेर सहयोग गर्ने भनेको छ।

नितिश जनता दल यूनाइटेट(जेडियू)का अध्यक्ष हुन् र अहिले बिहारका मुख्यमन्त्री पनि हुन्। चुनावअघि उनी भाजपासँग मिलेका थिए। सन् २००५ देखि नै बिहारको सत्तामा रहेका नितिश कुमारले अहिलेसम्म २५ पटक आफ्ना साझेदार फेरिसकेका छन्।
बिहारमा उनको दलले १२ सिट ल्याएको छ। आन्द्र प्रदेशका पूर्वमुख्यमन्त्री नायडुको तेलगु देशम पार्टीले १६ सिट ल्याएको छ।

प्रकाशित मिति: : 2024-06-07 08:32:00

प्रतिकृया दिनुहोस्