मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

Break n Links
Break n Links

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिँदै छन्।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छोड्दै समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा रहेको छ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

२०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका यादवले पहिलो पटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए भने दोस्रो पटक २०८० जेठ ३० गते विश्वासको मत लिएका थिए। त्यस्तै तेस्रो पटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिएका थिए। त्यसपछि सत्ता साझेदार नेपाली कांग्रेस समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि पुनः २०८१ वैशाख ४ गते चौथोपटक विश्वासको मत लिएका थिए।

यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ भने मधेस प्रदेश सरकारबाट एकीकृत समाजवादी पनि अन्तिम समयमा बाहिरिएको छ।

केन्द्रीय गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन्। यसअघि जनमतको नेतृत्वमा मधेसमा सरकार बनाउन एमाले र माओवादी सहमत भइसकेका छन्। केन्द्रको गठबन्धनले विश्वासको मत लिँदा नै जनमतलाई मधेसमा मुख्यमन्त्री दिने सहमति भएको थियो।

१०७ सदस्यीय मधेस प्रदेशमा एमालेका सभामुखसहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका ७ सांसद छन् भने संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक-एक सांसद छन्।

प्रकाशित मिति: : 2024-06-05 10:57:00

प्रतिकृया दिनुहोस्