सिङ्गापुर एयरलाइन्सकाे तुफानमा परेका २० जनाको मेरुदण्डमा गम्भीर चोट, आईसीयूमा उपचार हुँदै

सिङ्गापुर एयरलाइन्सको विमानमा गम्भीर टर्ब्युलेन्स (हवाई तुफान)का कारण २० जनाको मेरुदण्डमा चोट लागेको छ।

बैंककको एक अस्पतालका प्रमुखले उनीहरु सघन उपचार कक्ष (आईसीयू)मा रहेको बताएका छन्। बैंककको अस्पतालमा भर्ना भएकामध्ये दुई वर्षीय बालक पनि छन्।

लण्डनबाट उडेको यो विमानले गत मंगलबार थाइल्याण्डमा आपतकालीन अवतरण गरेको थियो। ४६ यात्रु र दुई जना चालक दलका सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले जनाएको छ। विमानमा सवार यात्रुहरूका अनुसार विमान अचानक तल झर्यो र सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएका थिए।

२० जनाकाे मेरुदण्डमा चोट लागेकाे छ भने ६ जनाको अवस्था गम्भीर रहेको छ।

सिंगापुर एयरलाइन्सको विमान एसक्यू ३२१ लन्डनबाट सिंगापुरको लागि उड्दा मंगलबार गम्भीर टर्ब्युलेन्समा परेको थियो। यस घटनामा ७३ वर्षीय ब्रिटिश नागरिक जियोफ किचेनको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2024-05-24 10:55:00

प्रतिकृया दिनुहोस्