चाैथाे पटक प्रचण्डलाई विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चाैथाे पटक विश्वासको मत पाएका छन्।

सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा एक सय ५७ मत, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो।

विश्वासको मत प्रक्रियामा एक सय ५८ सांसद सहभागी भएको सभामुख देवराज घिमिरेले जानकारी गराए।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए। बैठकमा अन्य विपक्षी दलहरुलेसमेत आशनबाट उभिएर विरोध जनाएका थिए।

कांग्रेसका सांसदको वेल घेराउ र नाराबाजीबीच सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका थिए।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

प्रकाशित मिति: : 2024-05-20 13:05:00

प्रतिकृया दिनुहोस्