उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्।
जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्षसमेत रहेका यादवले साेमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन्।
‘आज बिहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’, उनले भने।
उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन्।
त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री दीपक कार्कीले पनि आजै पदबाट राजीनामा दिएका छन्। जसपा राजनीतिक समिति सदस्य समेत रहेका उनले आजै राजीनामा बुझाएका हुन्।
यससँगै जनता समाजवादी पार्टी (जसपा) नेपाल संघ सरकारबाट बाहिरिएको छ।