विकल पाैडेलविरुद्ध फेरि मुद्दा: अमेरिकी नागरिक भएर नेपालमा सरकारी जागिरे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अमेरिकी पिआर (कानूनी स्थायी आवासीय अनुमति) लिएर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेर भ्रष्टाचार गरेकाे आरोपमा अख्तियारले पौडेलविरुद्ध विशेष अदालत मुद्दा दायर गरेको हो।

सुरक्षण मुद्रण केन्द्रकाे उपकरण खरिदमा अनियमितता गरेको आरोपमा उनीविरुद्धकाे भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ।

सुरक्षण मुद्रणका तत्कालीन कार्यकारी निर्देशक पदमा कार्यरत विकलले नेपालको संविधानको धारा २९१ को व्यवस्था विपरित विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको र स्वयं घोषणा गरी विवरण पेश नगरी झुक्याई सरकारी/सार्वजनिक पदमा बहाल रहेको, पदावधि थप गर्दा अयोग्य व्यक्तिलाई सिफारिस गरेको उनीमाथि आरोपमा छ।

नेपालको संविधानको धारा २९१ को उपधारा (१) मा भएको व्यवस्था, निजामती सेवा ऐन, २०४९ को दफा ६१(२)(ग) मा भएको व्यवस्था र संचार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध सार्बजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ११ को देहाय (घ) को व्यवस्थाविपरित विकल पौडेलले सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक पदमा राष्ट्रसेवकको ओहदामा बहाल रही लाभ र सुविधा पाइरहने उद्देश्यले आफैँले स्व:घोषणा गरी विदेशको अस्थायी आवासीय अनुमतिपत्र नलिएको भनी विवरण पेश गरेकाे अख्तियारकाे आरोपपत्रमा उल्लेख छ। 

यस्ताे छ अख्तियारकाे आरोप-पत्र

सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक पदमा कार्यरत विकल पौडेलले नेपालको संविधानको धारा २९१ को व्यवस्था विपरित विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको र स्वयं घोषणा गरी विवरण पेश नगरी झुक्याई सरकारी/सार्वजनिक पदमा वहला रहेको, पदावधि थप गर्दा अयोग्य ब्यक्तिलाई सिफारिश गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपालको संविधानको धारा २९१ को उपधारा (१) मा भएको व्यवस्था, निजामती सेवा ऐन, २०४९ को दफा ६१(२)(ग) मा भएको व्यवस्था र संचार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध सार्बजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ११ को देहाय (घ) को व्यवस्था विपरित निज विकल पौडेलले सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक पदमा राष्ट्रसेवकको ओहदामा बहाल रही लाभ र सुविधा पाईरहने उद्देश्यले आफैले स्व:घोषणा गरी विदेशको अस्थायी आवासीय अनुमतिपत्र नलिएको भनी विवरण पेश गरी राष्ट्रसेवकको हैसियतले वहाल रहेको अवस्थामा नै संयुक्त राज्य अमेरिकाको कानूनी स्थायी आवासीय अनुमती लिएर पनि उक्त विवरण लुकाई/छिपाई मिति २०७९।०२।१३ गते पदावधि थप गर्दासमेत उक्त विवरण लुकाई झुट्टा विवरण दिई राष्ट्रसेवक पदमा वहाल रही राष्ट्रसेवकको हैसियतमा लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएकोवाट निज प्रतिवादी विकल पौडेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएको हुँदा निज विकल पौडेललाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन र निज सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएको पदाधिकारी रहेकोले भ्रष्टाचार निवारण ऐन,२०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गत माथि उल्लेखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निज विकल पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे

याे पनि...
प्रकाशित मिति: : 2024-04-21 13:51:00

प्रतिकृया दिनुहोस्