नेपाली पात्रोमा एउटा दशक बितेको वर्ष पनि हो। गणतन्त्रका लगभग दुई दशक बिताएको यो २०८० साल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ सापटी लिएर भन्ने हो भने ‘उथलपुथल’को वर्ष पनि भयो।
वर्षको सुरुवातीतिर फेरिएको सत्ता समीकरणले देशीय राजनीतिलाई एउटा उथलपुथल गरायो। २०७९मा चुनाव लडेको गठबन्धनलाई भत्काएको नेकपा (एमाले) २ महिना नपुग्दै बाहिरियो। दोहोरो नागरिकता प्रकरणमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको बर्हिगमनसँगै तातिएको २०८० सालको सुरुवातले धेरै राजनीतिक उथलपुथल गरायो।
यो त्यही साल बन्यो जसले उही पुरानो गठबन्धनलाई ‘नयाँ’ बनायो। नागरिकता प्रकरणपछि सहकारी ‘ठगी’मा मुछिएका उनै रवि फेरि एमालेसँग मिलेर प्रचण्ड सरकारमा छिरे त्यो पनि गृहमन्त्री नै बनेर। यो ८०को अन्तिमतिर थियो।
बदलिएका राजनीतिक समीकरणसँगै मुख्य राजनीतिक दलहरूका नीतिगत निर्णय र आन्तरिक झैझगडाहरूले ८० साललाई रंगमगाए।
‘चुनावी गठबन्धन’ नगर्ने नेपाली काँग्रेसको निर्णयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई बुझाएको राजाको मागसहितका ४० बुँदा अनि नयाँ नागरिक उन्मुक्ति पार्टीभित्र चर्किएको ‘रेशम-रञ्जिता’को घरझगडाले पनि राजनीतिमा उत्तिकै तरंग ल्यायो। राष्ट्रपतिको ‘आममाफी’ प्रकरणले एउटा नजिर स्थापित गरेको वर्ष पनि बन्यो २०८०।
नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, जग्गा घोटाला र सहकारीको रकम हिनामिनादेखि यस्ता अनेकन भ्रष्टाचारका ‘काण्ड’हरूले पनि २०८०लाई उत्तिकै सम्झिरहने बनाएको छ।
०००
वर्षको मध्यतिर जाजकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले नेपाललाई स्तब्ध बनायो।
भूकम्पसँगै राजनीति पनि उथलपुथल नै भइरह्यो। ठूला नेताले जेल यात्रा गर्नु पर्यो। धर्मगुरु पनि जेल यात्राबाटा टाढा हुन सकेनन्। यस वर्ष सडकमा आन्दोलन गर्न बाँकी कहीँ रहेनन्। किसानदेखि डाक्टरसम्म सडक आन्दोलनमा उत्रिए।
जाजरकोट भूकम्प
२०८० साल कार्तिक २३ गते ६.४ म्याग्निच्यूडको भूकम्प गयो। नेपाल स्वतब्ध बनाउने घटनाका रुपमा जाजरकोट भूकम्प यस वर्ष इतिहासमा दर्ज भयो।
यो भूकम्पमा १५७ जनाभन्दा बढीको मृत्यु भयो। तीन सय बढी घाइते भए। करिब ६.४ म्याग्निच्युडको यो भूकम्पले दशौँ हजार घरहरू भत्काएको थियो। कैयौँ गाउँ नै रित्याउनेगरी आएको यो विनाशकारी भूकम्पका कारण ध्वस्त भएका बस्तीहरू बनाउने क्रम अहिले पनि जारी छ।
२०७२ पछि नेपाली जमिन बेस्सरी हल्लाएको यो अर्को शक्तिशाली भूकम्प थियो।
नेपालमा उच्चस्तरीय भ्रमण
सन् २०२३ मा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस नेपाल भ्रमण आए। वर्षको अन्तिम महिनातिर हुने संयुक्त राष्ट्रसंघीय विश्व जलवायु सम्मेलनको पूर्वसन्ध्यामा नेपाल आएका गुटेरेसको भ्रमणले विश्वव्यापी चर्चा पाएको थियो।
त्यसमाथि हिमालका काखामुनि पुगेर नेपालले झेलिरहेको जलवायु परिवर्तनका घाउहरूलाई उनले विश्वभरि फैलाइदिए।
नेपालका हिमालका काखमुन्तिर पुगेका गुटेरेसले विश्वलाई नै चेतावनी दिँदै भनेका थिए, ‘अब यो पागलपन बन्द गर।’ जहाँबाट उनले हिउँ निख्रिएका हिमालका कथाहरू विश्वका ती नेताहरूलाई चेतावनी दिँदै पठाए जसले वायुमण्डलमा कार्बन उत्सर्जन गर्न ‘पागलपन’ देखाइरहेका छन्।
यसै वर्ष दुबईमा भएको विश्व जलवायु सम्मेलनमा नेपालको उपस्थिति गुटेरेसको यही भ्रमणका कारण पनि विश्व आँखामा पर्याे। जहाँ नेपालका प्रधानमन्त्री प्रचण्डले जलवायु वित्तमा ‘नेपालको बिन्ती होइन, अधिकार’को भाष्य प्रयोग गर्ने सामथ्र्य पनि देखाए।
नक्कली भुटानी शरणार्थीदेखि क्वीन्टल सुनसम्म
२०८०को सुरुवातसँगै गर्दा कैयौँ नेपाली ‘नक्कली शरणार्थी’ बनेर अमेरिका गइरहेको र जान खोजिरहेका समाचारहरू बाहिरिन थालिसकेका थिए।
त्यही लोभमा लोभ्याइएका कतिपय नेपाली नागरिकले प्रहरीमा उजुरी दिएपछि त्यसको छानबिन त केही वर्षअघि नै सुरु भइसकेको थियो। तर, यसपालि भने प्रतिष्ठित व्यक्तिहरू नै मुछिएपछि यो मुद्दाले धेरै चर्चा पायो।
यसमा विभिन्न राजनीतिक दलका नेता, सांसद र कतिपय पूर्वमन्त्रीहरू पनि सामेल भएका तथ्यहरू सार्वजनिक भएका थिए। तीमध्ये नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण (हाल धरौटीमा रिहा भएका), नेकपा माओवादीका नेता टोपबहादुर रायमाझी, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल (रिहा भएका)लगायतका व्यक्ति मुछिएका थिए।
त्यही बिचमा चर्चामा आएको ‘क्वीन्टल सुन’ प्रकरणले नेपाल विश्वभरि छायो। तर, त्यो सुन पगालेर जोख्दासम्म ६० किलोमा झरेको थियो। सुनका यस्ता काण्ड यो वर्ष धेरै नै सार्वजनिक भए। जसमा नेपालका कतिपय नेता र ब्यापारीदेखि चिनियाँ र अन्य विदेशी नागरिक पनि गाँसिएका छन्।
०००
बम्जनको जेलयात्रा
२०६१ तिर बाराको एउटा जंगलमा ठूलो पिपलको बोटमुनि ‘ध्यान’ गरिरहेका एउटा बालकलाई देखेका केही स्थानीयले त्यो खबर क्षणमै देशभरि फैलाए। अनि त उनलाई हेर्नका लागि तीर्थालुहरूको भीड लाग्न थाल्यो।
मान्छेले उनलाई रातारात भगवानै बनाइदिए। अनि १४ वर्षीय ती बालक ‘बुद्धका अवतार’का रुपमा देशभरि छाए। जसरी उनको चर्चा चुलिएको थियो केही वर्षमै उनका ‘कर्तुतहरू’ पनि उसैगरी बाहिरिन थाले। आफ्ना ‘भक्त’ महिलामाथि यौन शोषणदेखि हत्या, अपहरण र ठगीजस्ता मुद्दाहरू बोकेर वर्षौंसम्म ‘अन्तर्ध्यान’ भएका यी ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जन आखिर २०८० सालमा पक्राउ परे।
२०८० साल पुस ४ गते नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले काठमाडौँबाट उनलाई पक्राउ गर्यो। अहिले पनि उनी पुर्पक्षका लागि थुनामै छन्।
दुर्गा प्रसाईंले तताएको सडक: ऋण मिनाहदेखि राजा माग्नेसम्म
राजनीतिको फेरो फेर्दै मेडिकल र अन्य व्यवसायमा समेत नाम कमाइरहेका दुर्गा प्रसाईंले वर्ष २०८०लाई निकै तताए। बैंकहरूबाट अर्बौं ऋणको भारी बोकिरहेका उनले आफ्नो काँधमा ‘राजा’ पनि थापे।
देशभरिका ‘ऋणी’हरूको ‘भगवान’ बनेर उनले सडकको यात्रा तय गरे। काठमाडौंमा हजार मान्छे बटुलेर ऋण मिनाहा र राजा मागेर चर्चा कमाएका दुर्गा प्रसाईं अहिले पनि ‘देश’ यात्रामै छन्। यस्तै ‘पीडित’हरूको ‘मसिहा’ बन्ने चक्करमा अहिले उनले राजा माग्ने राजनीतिको अर्को फेरो समाएका छन्।
२०८०ले यस्ता धेरै आन्दोलनहरू पनि जन्मायो।
निषेधित सडकमा आन्दोलनकारीको भीड
२०८०को मध्यतिर एउटा त्यस्तो समय थियो जतिबेला माइतीघरमा आन्दोलन गर्नका लागि पालो कुर्नुपर्थ्यो। घरायसी झैझगडा मिलाउनेदेखि व्यक्तिगत ‘न्याय’ माग्नेहरूसम्म माइतीघरकै हुलमा भेटिन्थे।
यो त्यही सडक हो जहाँ आरती साहहरू महिनौँ बसे। नेपालगन्जका रुवी खानहरू महिनौँ दिनको पैदल यात्रा नापेर यहँ आइपुगे।
दूध बेचेको पैसा नपाउने किसानहरूदेखि शिक्षकसम्मले कैयौँ दिन यो सडक तताए। सहकारी पीडितदेखि मिटरब्याजीहरूले देशका पूर्वपश्चिमदेखि पैदल दूरी नापेको सडक पनि यही नै बन्यो।
त्यसैको ‘डर’ थियो सरकारले माइतीघरलगायत धेरै त्यस्ता ठाउँहरूलाई ‘निशेषिध’ गर्यो जहाँबाट सरकारको सिधा नजर ती आन्दोलनमा पर्थे।
२०८० साल ‘नागरिक’ छेक्ने सरकारी प्रयासका रुपमा पनि चिनियो।
सेलिब्रेटीका काण्डहरू
बलात्कार आरोप खेपिरहेका कैयौँ सेलिब्रेटी २०८० सालमा पनि उत्तिकै चर्चमा रहे। कोही जेलबाट छुटेर चर्चामा थिए, कसैको मुद्दा नसकिएर। क्रिकेटर सन्दीप लामिछानेदेखि कलाकार पल शाहहरू यसका प्रतिनिधि उदाहरण बने। ऋषि धमलादेखि सर्मीला बाइबाहरू त हरसाल छाइरहन्छन्।
हर्क अनि बालेन ‘हर्कत’हरू
‘स्वतन्त्र’ मेयर हर्क साम्पाङ र बालेन साहहरूको चर्चा चुनावीताका जस्तो थियो, मेयर भइसकेपछि उनीहरूको ‘आलोचना’ र हर्कतहरूका उत्तिकै चर्चा रहे।
धार्मिक अभिव्यक्ति र ‘बचकना’ हर्कतले हर्क छाइरहे भने बालेन साहको चर्चा र आलोचना पनि रोकिएनन्। प्रहरीले श्रीमतीको गाडी रोक्दा ‘सिंहदरबार जलाइदिन्छु’ बालेनको अभिव्यक्तिलाई राज्यबाट निराश एउटा जमातले झन धेरै तेल छर्किएर आगो बाले।
रुस-युक्रेन र इजरेल-हमास युद्धमा नेपाली
करिब दुई वर्षदेखि जारी रुस र युक्रेनको लडाइँमा नेपाली युवाको संलग्नताले वर्ष २०८०को मध्यतिर निकै तरंग निम्त्यायो।
यो युद्धमा कैयौँ नेपालीले ज्यान गुमाइसकेका छन्। रुसको सेनामा भर्ती भएर युक्रेनसँग लड्ने क्रममा कम्तीमा एक दर्जन नेपालीको मृत्यु सरकारी रेकर्डमा रहे पनि त्यहाँ हजारौँ नेपाली जोडिएको र सयौँ नेपालीको मृत्यु भएको खबरहरूलाई सरकारले पुष्टि गर्न सकेको छैन।
रुसी सेनामा भर्ना भएका आफ्ना आफन्तहरूलाई फर्काइदिनका लागि सरकारसँग गुहार माग्दै परिवार सिंहदरबारसम्मै आए। नेपालले पनि उनीहरूलाई फर्काउन कुटनीतिक प्रयास त गर्यो तर भनेजसरी सफल हुन सकेन।
रुसमात्रै होइन युक्रेनी सेनामा पनि नेपाली रहेका छिटफुट समाचारहरूलाई पनि सरकारले आधिकारिक मानेको छैन। तर, त्यहाँका नेपालीका अनुसार अहिले पनि दुवैतिरको युद्धमा धेरै नेपाली छन्।
युद्धमा मारिएका केही नेपालीको शव नेपाल ल्याइएको छ। रुस सरकारले मृत्यु भएका केही नेपाली परिवारलाई राहत पनि दिन थालेको छ। तर, त्यहीँ लडिरहेका नेपालीहरूका लागि भने सरकारले ठोस कदम चाल्न सकिरहेको छैन।
यो सँगै २०८०को मध्यतिरै फेरि चर्किएको इजरेल हमास युद्धको मार पनि नेपालीले खेप्नु पर्यो। २०८०को असोज तेस्रो सातातिर दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासले अचानक आक्रमण गरेपछि सुरु भएको रक्तपातपूर्ण लडाइँ अझै सकिएको छैन।
त्यही आक्रमणमा परेर कम्तीमा १० जना नेपालीले ज्यान गुमाए। त्यो क्षेत्रमा पढ्दै कमाउँदै परियोजना-अन्तर्गत कृषि क्षेत्रका लागि तालिम लिन गएका नेपाली आक्रमणमा परेका थिए।
हमासले बन्धक बनाएका नेपाली युवा बिपीन जोशीको अझै अत्तोपत्तो छैन।
०००
समग्रमा देशीय राजनीतिको उथलपुथलसँगै २०८०मा नेपालले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरूको पनि सामना गर्नु पर्यो। विश्वभरि चलेका युद्धहरूको असरले नेपाली समाजलाई पनि उत्तिकै प्रभाव पार्यो। विश्वमै देखिएको आर्थिक मन्दीदेखि जलवायु परिवर्तनका प्रभावहरूले नेपाललाई छोएका प्रसंगहरू विश्वमञ्चमै पनि पुगे। सँगसँगै शक्ति राष्ट्रका ‘वाकयुद्ध’को भूमरीमा पनि नेपाली राजनीति उत्तिकै गाँसियो।