नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एमाले ओखलढुंगाका पूर्वअध्यक्षले छाडे पार्टी

नेकपा एमाले ओखलढुंगाका पूर्वजिल्ला अध्यक्ष शंकर कटवालले पार्टी परित्याग गरेका छन्।

जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन्।

पार्टी सदस्यबाट राजीनामा दिँदै उनले भनेका छन्, 'दशाैँ जिल्ला अधिवेशनमा जे जस्ता रबैया र गतिविधिहरु देखियो। जुन खालका आरोप-प्रत्यारोपको होडबाजी चल्यो। नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो। मैले मेरो ३४ वर्षको राजनैतिक जीवनमा यस्तो विधि र पद्धतिविहीनता अनुभूति गरेको थिइनँ। अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनैतिककर्मीको भविष्य बन्छ, न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनैतिक न्याय स्थापित गर्न सकिन्छ। यही कुरालाई महसुस गरी मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज  क.खगेन्द्र राईमार्फत मिति २०८०/१२/२७ गते बेलुका ६ बजे नै पार्टी परित्याग गरेको राजीनामा पठाइसकेको छु। आजबाट म नेकपा एमालेको पार्टी सदस्यसमेत नरहेको सबैमा जानकारी गराउन चाहन्छु।'

बुधबार सकिएको एमाले ओखलढुंगाको अधिवेशनले ज्ञानबहादुर (जिबी) खड्कालाई अध्यक्षमा चुनेको थियो। उनले हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए।

प्रकाशित मिति: : 2024-04-11 12:01:00

प्रतिकृया दिनुहोस्