पूर्व राजा ज्ञानेन्द्र शाहले जुम्ला गएर खोजे विकास, भने– यहाँ अपार सम्पदा छ तर विकास खै?

पूर्व जारा ज्ञानेन्द्र शाहले जुम्लामा पुगेर देशको विकास खोजेका छन्। शनिबार जुम्लाको सदरमुकाम खलंगामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास खै भन्दै सरकारलाई प्रश्न गरे। 

उनले अहिलेको सरकारले केही नगरेको भन्ने संकेत गर्दै भने– ‘हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गइरहेका छौँ। आफ्नै भू–गर्भभित्र अथाह धन–धान्य छ। तर खानका लागि काम खोज्न हामी भौतारी राखेका छौँ। कालिकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन? तर विकास खै?’

यति भनिरहँदा शाह वंशले गरेको २४० वर्षे शासन कालभने उनले सम्झिएनन्। २४० वर्षे शासन कालमा राजतन्त्रले केही गर्न नसकेको भनेर २०६५ सालमा नेपाली जनताले राजतन्त्र फालेका थिए।  

त्यसयत उनी निर्मल निवासमा बस्दै आएका छन्। गणतन्त्र स्थापनापछि पनि नेपालीले नै चुनेका नेताहरुले भनेअनुसार काम नगर्दा राजतन्त्र चाहियो भन्नेखालका आवाजहरु सडकमा उठ्न थालेका छन्। 

त्यसैको फाइदा उठाउँदै पूर्व राजा शाहले शनिबार जुम्लामा पुगेर १५ वर्षमा देशमा केही नभएको भन्ने गरी अभिव्यक्ति दिए। लिखित अभिव्यक्ति दिएका उनले अब राजततन्त्र फर्काउन लाग्नुपर्ने बताए। 

‘आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ। अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ’, उनले भने। 

शाहले नयाँ सम्झौता गरेर अगाडि बढ्नका लागि आह्वान पनि गरे। भने– ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ।’

यद्यपि पृथ्वी नारायण शाह नेपाल एकीकरण गरेपछि विस १८२५ मा पहिलो शाह वंशीय राजा भएका थिए। त्यसपछि २४० वर्षसम्म शाह वंशले नेपालमा शासन गरे। २०६५ साल जेठ १५ गते नेपालबाट राजतन्त्र अन्त्य भएको थियो। 

प्रकाशित मिति: : 2024-04-06 18:00:00

प्रतिकृया दिनुहोस्