इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्।
रास्वपाका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, सांसद निशा डाँगी, रास्वपाका सह-महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी, तथा विपिन आचार्यको उपस्थितिमा लिम्बूले उम्मेदवारी दर्ता गराएका हुन्।
इलाम बजारमा रहेको उम्मेदवार सम्पर्क कार्यालयबाट मन्त्री अर्याललगायत केन्द्रीय पदाधिकारी र समर्थकहरूले आफ्नो पार्टीको चुनाव चिन्ह घण्टी बजाउँदै ठूलो र्यालीसहित उनी मनोनयन दर्ता गराउन गएका हुन्।
लामो समयदेखि पत्रकारिता मार्फत नागरिकको मुद्दालाई जोडदार रूपमा उठाउँदै आएका लिम्बूको उम्मेदवारीलाई इलामका नागरिकहरूले आमनागरिकको उम्मेदवारीको रूपमा लिएर समर्थन गर्दै आएका छन्।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि हालसम्म एक दर्जन बढीले उम्मेदवारी दर्ता गराइसकेका छन्।