राजनीतिले बिथोलिरहेको एक प्रेमकथा

फाइल तस्विर
फाइल तस्विर

हिँजसम्म तिम्रै काखमा पर्थें लुटुपुटु
आज किन लागिराछ कतिबेला छुटुँ
कहिले पनि एक हुँदैन रैछ दुइटा मुटु…

‘आममाफी’ पाएको केही समयपछि रेशम चौधरीले आफ्नै ‘साधना कक्ष’मा गुनगुनाएको यो धुनले यतिबेला उनी आफैँले भोगेको जीवन बोलिरहेको छ।

रेशम एक राजनीतिज्ञमात्रै होइनन्, राजनीति सिक्नुअघि उनी एक कलाकार थिए। गायक थिए, गीत गाउँथे। संगीतकार थिए, आफ्ना अनि अरुका गीतिशब्दमा मीठा धूनहरू भर्थे। आफैँ माया प्रेमका गीत लेख्थे र गाउँथे पनि। गीत, कविताका किताबहरू पनि लेख्थे। रेडियोमा कार्यक्रम चलाउँदा चलाउँदै उनले आफ्नै एफएम रेडियो खोले कैलालीको टीकापुरमा।

यो त्यही टीकापुर हो, जहाँ रेशमले राजनीतिक जीवनका रेखाहरू पनि कोर्न थाले।

परिवन्दले घेरिएको जीवन न हो, जानी नजानी राजनीतिमा सरेका उनका पाइलाहरू एउटा यस्तो भासमा भासिए जहाँबाट रेशमको त्यो रसिक अनि राजनीतिक जीवन अहिलेसम्म पनि उभ्रिन सकेको छैन।

सांगितिक कर्मभूमि काठमाडौंमै थियो। रेशमले त्यहीबेला रञ्जिता श्रेष्ठसँग प्रेम विवाह गरे। काठमाडौंको रैथाने नेवारकी छोरी रञ्जिता उनै रेशमको ‘रेशमी’ घुम्टोमा कैलालीसम्म  पुगिन्।

काठमाडौंको सुखसयल जीवन बाँचेकी रञ्जितालाई कैलाली फर्किँदै गर्दा रेशमले भनेका थिए- म मारिन पनि सक्छु, तिम्रा सिंदूर पोंते लुटिन सक्छन्।

रञ्जिताले जवाफ फर्काएकी थिइन् जे हुन्छ सँगसँगै भोगौंला…।
रेशम त्यो भेगका हुनेखाने थारु घरानाकै थिए।

त्यो समय ‘पहिचान’को आन्दोलन राप बनेर बलिरहेको थियो, खासगरी पश्चिम तराईमा। रेशम त्यही आन्दोलनका एक रचनाकार पनि थिए।

रञ्जिताले जति धेरै सुख भोग गरिन् त्यत्ति नै पीडाहरू पनि सहिन्। रेशमको जीवनमा लागेका चोटहरूले उनी र उनका सन्तानहरूलाई दुखाए।

रेशम चौधरी कुनै बेलाका ‘भेट्रान’ कलाकार हुन्। उनले दर्जनौं गीतमा संगीत भरेका छन्। दर्जनौं गीत लेखेका छन्। तीमध्ये धेरै राष्ट्रिय भावले भरिएका गीतहरू पनि छन्।

उनले टीकापुरमा रेडियो पनि चलाउँदै आएका थिए। उनले बनाएको एउटा ‘कमैया’को जीवन समेटेको फिल्म थुप्रै अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रदर्शन भइसकेको छ। उनी करातेका प्रशिक्षक पनि हुन्।

काठमाडौंको आरआर क्याम्पसमा एमालेनिकट अनेरास्ववियुबाट स्ववियु सदस्य निर्वाचित भएपछि उनको औपचारिक राजनीतिक जीवन सुरु भएको थियो।

२०५४ सालमा एमालेको विभाजनपछि मालेतिर सोझिएका उनले त्यसपछि थुप्रै दलहरू बदले।

उनी २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा कैलाली क्षेत्र नं १बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर, उनी पराजित भए। दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनी क्षेत्र नं. १ र ३बाट उम्मेदवारी दिए। यसपटक रेशमलाई राजेन्द्र महतोको तत्कालीन नेपाल सद्भावना पार्टीले टिकट दिएको थियो। तर त्यहाँ पनि उनी पराजित भए। पछि उनी सद्भावनाकै केन्द्रीय सदस्य भएका थिए।

चौधरीले चलाएको थारु उत्थान मञ्च भन्ने गैरसरकारी संस्थालाई भारतीय दूतावासले पनि थुप्रै सहयोग गरेको थियो।

मिडिया सञ्चालक, कलाकार अनि समाजिक काम। टीकापुरमात्रै होइन रेशम चौधरी देशभरि चिनिइसकेका थिए।

संघीयताको बहससँगै चर्किएको ‘थरुहट’ आन्दोलनमा उनी विस्तारै जोडिँदै थिए। कुनै बेला माओवादीका ‘लडाकु’ रहेका लक्ष्मण थारुले पछि थरुहट सेना पनि बनाएका थिए।

‘थरुहट/थारुवान’ आन्दोलन चर्किँदै जाँदा लक्ष्मण थारु र रेशम चौधरीहरू निकै चर्चामा आइसकेका थिए। त्यही आन्दोलन भदौ ७ गते टीकापुरमा दुर्घटनग्रस्त भयो।

‘टीकापुर’सँगै जलेका रेशमी सपना

२०७२ सालमा संविधान जारी हुने तरखर चल्दै थियो।

दोस्रोपटक गठन भएको संविधानका मस्यौदाहरूमा छलफल चलिरहेका थिए। पश्चिममा ‘अखण्ड सुदूरपश्चिम’को आन्दोलनको आगो बलिरहेको थियो।

त्यसअघि नै सल्किसकेको ‘थरुहट/थारुवान राज्य’ बनाउने आन्दोलनको आगो झन् दन्किसकेको थियो। त्यो माओवादी आन्दोलनकै एक उपज पनि थियो।

२०७२ साल भदौ ७ गते टीकापुरमा हजारौं थारु जम्मा भएर, सारा सरकारी कार्यालयमा ‘थरुहट स्वायत्त प्रदेश’ लेख्‍ने कार्यक्रम थियो।

एकातिर ‘अखण्ड सूदूर’ थियो। अर्कातिर ‘थरुहट’को आगो। टीकापुरमा त्यो आगोले धेरैको जीवन जलाइदियो। धेरैको जीवन उजाडिदियो। राजनीतिक संघर्षको इतिहासमा त्यो ‘कालो दिन’ बनेर बस्यो।

एकजना दूधे बालक र आठ जना प्रहरीको हत्या भयो। प्रहरीका एकजना एसएसपीसमेत मारिए। माओवादी जनयुद्धपछि भएका आन्दोलनका क्रममा मारिएका सम्भवत: उनी उच्च प्रहरी अधिकृत थिए।

त्यो काण्डमा मुछिए रेशम अनि लक्ष्मण थारूहरु।

त्यसपछि चौधरी भूमिगत नै थिए। २०७४ सालमा आम निर्वाचनको घोषणा भयो। रेशम चौधरीले राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिए। र, निर्वाचन जिते पनि।

कानुनको नजर फरार सूचीमा रहेका उनले २०७४ फागुन १४ गते अदालतलमा आत्मसमर्पण गरेका थिए। त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

सदराखोरबाट सिंहदरबार झिकाएर सपथ खुवाउनुअघि राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीले ओली सरकारलाई समर्थन दिएको थियो, चौधरीको रिहाइ। संविधान संशोधन र मुद्दा खारेजी गर्ने शर्तमा।

अदालतलले चौधरीलाई आजीवन काराबासको सजाय सुनाएपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने समाजवादी सरकारमै थियो। समर्थन दिएपनि राजपा भने सरकारमा थिएन।

२०७४ सालको चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्म पुगिसकेका तत्कालीन एमाले र माओवादी केन्द्रबीच खास मेल हुन सकिरहेको थिएन। अनेक विवाद र तनावका बीच प्रधानमन्त्रीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिए र त्यसपछि ‘नेकपा’ले विभाजनको औपचारिक बाटो तय गर्‍यो।

सर्वोच्चले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गरेसँगै अब नयाँ सरकार बनाउने तयारी थालेका प्रचण्डहरूलाई सर्वोच्चले अर्को झड्का दियो– ‘नेकपा’को नाम ऋषि कट्टेललाई थमाइदियो। अनि एमाले र माओवादी केन्द्रको त्यो एकता बदर गरिदियो।

‘नेकपा’भित्रका एमाले र माओवादी आ-आफ्नो हैसियतमा फर्किएसँगै देशमा विकसित नयाँ राजनीतिक समीकरण र सर्वोच्चको परमादेशले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए। 

योसँगै रेशम चौधरीको ‘रिहाइ’ त्यत्तिकै भयो। उनी सदरखोरमै थिए।

रेशमको ‘उन्मुक्ति’ र ‘नागरिक उन्मुक्ति’

सदरखोरकै एउटा भेटमा रेशमले भनेका थिए- औंलाहरू त साहित्य कोरिरहेका छन् तर पाइलाहरू राजनीतिक बिसौना खोज्छन्। करिब तीन वर्षको जेल बसाइँका क्रममा उनले लगभग आधा दर्जन साहित्यिक कृतिहरू जेलबाट प्रकाशन गरिरहेका थिए र अरू पनि तयारी गरिरहेका थिए।

आम चुनावको वर्ष थियो २०७९ साल। जेलभित्रै राजनीति र साहित्यको ‘साधना’ गरिरहेका रेशमले २०७८ सालको पुसतिर राजनीतिक दलको घोषणा पत्र पनि लेखिसकेका थिए जेलभित्रै, अरु साहित्यिक रचनाहरूसँगै।

पुस १९ गते ‘नागरिक उन्मुक्ति पार्टी’ निर्वाचन आयोगमा दर्ता भयो, श्रीमती रञ्जितालाई पार्टीको अध्यक्ष बनाएर। पार्टीका रचनाकार रेशम आफैँ थिए। त्यसमा मात्रै उनले श्रीमतीको थमौती गरिदिएका थिए।

सदरखोरको गर्भगृहमा जन्मिएको नागरिक उन्मुक्तिले २०७९ को आम निर्वाचनमा स्थानीय तह, प्रदेश र संघमा पनि ‘अप्रत्याशित’ नतिजा ल्यायो। कैलाली र बर्दियामा उसले केही पालिकाका अध्यक्षहरूसमेत पायो। केहीमा उपाध्यक्षहरू पनि। सुदूरपश्चिम प्रदेशमा उसका ७ जना सांसद छन्। लुम्बिनीमा ३ जना र संघीय प्रतिनिधिसभामा ४ जना सांसद छन्। यीमध्ये एक जना श्रीमती रञ्जिता र बुबा लालवीर चाैधरी पनि हुन्।

२०७९ सालको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलगायतका दलहरूले गठबन्धन गरेका थिए। सरकारको नेतृत्वमा काँग्रेस र माओवादीबीच लफडा भयो र माओवादीले एमालेसँग मिल्न गयो। उसकै मद्दतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए।

तीन महिना पनि नपुग्दै फेरि गठबन्धन फेरियो। एमाले बाहिरिएर नेपाली काँग्रेस सत्ता प्रवेश गर्‍यो। नागरिक उन्मुक्ति पनि प्रचण्ड सरकारमा थियो।

रञ्जिता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनिन्।

यही सरकारले २०८० सालको गणतन्त्र दिवसमा (जेठ १५ गते)राष्ट्रपतिले आममाफी दिनका लागि करिब ५०० जनाभन्दा बढी कैदीबन्दीहरूको सूची तयार गर्‍यो।

त्यसमा एउटा नाम रेशमलाल चौधरीको पनि थियो।

त्यो दिन आयो। करिब ६ वर्षपछि रेशम चौधरी बाहिरी संसारमा आए। यो बेला नेपालको राजनीतिले अर्कै मोड लिइसकेको थियो।

प्रेममा घुसेको राजनीति

पार्टीको अध्यक्ष त रञ्जिता थिइन्। तर त्यसको रिमोट भने सदरखोरमै थियो रेशमसँग। बाहिर राजनीतिमा जे हुन्छ वा रञ्जिताले जे गर्नुपर्छ त्यसको आदेश वा निर्देशन रेशमकै हुन्थ्यो। रेशमले चाहेको पनि त्यस्तै थियो। उनले कुरेको पनि त्यही दिन थियो।

बाहिर निस्किनासाथ एउटा विशेष बैठक गरेर उनले आफैँलाई पार्टीको अध्यक्ष घोषणा गरे। त्यहाँसम्म पनि ठीकै थियो।

उनको आममाफीविरुद्ध परेको रिट अहिले पनि सर्वोच्चमा विचाराधीन छ। यही मुद्दाका कारण आयोगले रेशमलाई पार्टीको अध्यक्ष त परैको कुरा भो पार्टीको साधारण सदस्य हुनसमेत ‘अयोग्य’ घोषित गरिदियो।

बिग्रिएको यहिँनेरबाट हो।

यतिञ्जेल फेरि सत्ता समीकरण फेरिइसकेको छ। फेरि एमाले भित्रिएको छ, नेपाली काँग्रेस बाहिरिएको छ। नागरिक उन्मुक्तिले बाटो खोजिरहेको छ।

राजनीति र सत्ताको यही बाटोमा अहिले रेशम र रञ्जिताको प्रेमकहानी अलमलिएको छ।

रेशम बाहिरिएसँगै नागरिक उन्मुक्ति प्रस्ट दुईधारमा बाँडिएको छ। एकातिर सांसद अनि केही नेता कार्यकर्ताहरू रेशमकाे पक्षमा छन्। अर्कोतिर रञ्जिताका पक्षधर पनि।

आयोगले पनि रञ्जितालाई नै अध्यक्ष कायम गरिसकेपछि वैधानिकत: पार्टीका काम कारबाही रञ्जिताकै सहमतिमा हुन्छन्। तर रेशमले पनि अहिले पार्टीलाई आफैँ अध्यक्ष जसरी चलाउन खोजे।

मन फाटेको यहीँनेर हो।

अनि उनले पत्नीसँगै बसेर एउटा प्रेमपत्र लेखेको पनि यहीँनेर हो- तिमीलाई मैले सम्झाउन सकिनँ प्रिय…!

सरकारमा जाने कि नजाने?

रञ्जिताहरूको स्पस्ट धार छ- सरकारमा जानुपर्छ। संघमा पनि जानुपर्छ। प्रदेशहरूमा पनि छिर्नुपर्छ।

तेस्रोपटक फेरिएको सत्ता समीकरणमा यी श्रीमान-श्रीमातीबीच नमिलेको कुरा यही हो।

रेशमहरूलाई पनि लाग्छ-अहिले नै संघको सरकारमा नगइहालौं। तर आफ्ना धेरै सांसद भएको सुदूरपश्चिम सरकारमा भने जानुपर्छ। रेशमले भनेजस्तो अरु सुदूरमा यो पार्टीका सातमध्ये पाँच जना मन्त्री भएर सपथ लिइसकेका छन्।

रञ्जितालाई लाग्छ- जुन प्रधानमन्त्री(प्रचण्ड)को पहलमा रेशम जेलमुक्त भए उनलाई समर्थन दिनुपर्छ।

रेशमलाई लाग्छ- कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौँ र तिमी पनि मन्त्री भएकी हौ…!

‘लोग्ने-स्वास्नी’को झगडाले बिथोलिएको नागरिक उन्मुक्तिका नेता कार्यकर्ताहरू अहिले कुटपिटसम्मै उत्रिन थालिसकेका छन्।

यद्यपि, रेशम र रञ्जिता दुवैले भनिरहेका छन्- यो विशुद्ध राजनीतिक मुद्दा हो। बिचारको लडाइँ हो। यसले जीवनको मोड बदलिँदैन।

तर, सोमबार पार्टी कार्यालयमा भएको ‘धकेला-धकेल’ त्यसैको परिणाम हो। कार्यकर्ताहरू एकअर्को ‘ज्यान’ लिन तम्मिएको भन्दै तर्सिरहेका छन्।

यसरी बिरक्तिएका रेशमले भनेका छन्- आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्‍याइसकेँ।

यति भन्दै रेशम अस्पताल भर्ना भए…

प्रकाशित मिति: : 2024-04-01 21:00:00

प्रतिकृया दिनुहोस्