नागार्जुन नगरपालिका–६ सितापाइलामा फागुन ९ गते राजु घिमिरेले श्रीमती प्रेमकुमारी, छोरी अनिशा र नातिनी शिवानीको हत्या गरे। र राजु आफैँले पनि झुण्डिएर आत्महत्या गरे। यो हत्या प्रकरण पारिवारिक कलह भएको प्रहरी अनुसन्धानबाट देखिएको थियो।
यस्तै गएको भदौ ३० गते काठमाडौँ महानगरपालिका–३२ गैह्री गाउँमा दीपेन्द्र राईले चार जनाको हत्या गरे। कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा सुभद्रा भुजेल र अर्का व्यक्ति नविन राईको राति सुतेको समयमा सामूहिक हत्या गरेका थिए। हत्याको कारण सानो वादविवाद थियो।
पाल्पा रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको यही चैत १३ गते नुहाउन गएको समयमा पधेंरोमै हत्या भयो। यो समाचार तयार पर्दासम्म हत्या भएको पाँच दिन भएको छ। हत्यामा संलग्न कोही व्यक्ति फेला परेका छैनन्। प्रहरीले जबरजस्ती करणी गर्न खोज्दा नमानेपछि सुनारको हत्या भएको हुन सक्ने अनुमान गरेको छ।
त्यसैगरी चैत २ गते रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना विक खलङ्गाको एक होटलमा मृत भेटिइन्। उनकाे मृत्युबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले सानीभेरी गाउँपालिका–९ सिम्लीका ३३ वर्षीय लोकबहादुर विकलाई पक्राउ गर्यो। अन्तत: उनले नै होटलमा बोलाएर पैसाको लेनदेनमा विवाद हुँदा भावनाको हत्या गरेको स्विकारे।
जेठ २५ गते कैलालीको लम्कीचुहा नगरपालिका–४ भल्काकी मञ्जु रावल घरबाट वकिल भेट्न निस्किएकोमा बेपत्ता हुन्छिन्। रावल बेपत्ता भएको करिब डेढ महिनापछि प्रहरीले शव जंगलमा सडेको अवस्थामा भेटाउँछ। जहाँ रावललाई हत्या गरी फालिएको थियो। अंश विवादमा उनलाई बालात्कार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। तत्कालीन समयमा हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनामाथि मुद्दा दायर गरेको थियो।
यी माथिका घटनाले एक व्यक्तिबाट धेरैको र धेरैबाट एक व्यक्तिको हत्या भइरहेकाे देखाउँछ। अर्को महत्वपूर्ण हत्याका घटना चिनेजानेकै र आफन्तबाटै भइरहेका छन्।
प्रहरी अनुसन्धानले २० वर्षअघि र २० वर्षपछिको घटनामा निकै फरक आएको देखाउँछ। २० वर्षअघि हत्याका घटना नचिनेका व्यक्तिबाट धेरै हुन्थ्यो, अहिले धेरै घटना चिनेकै व्यक्तिबाट हुने गरेको छ।
नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकाल भन्छन्, ‘पहिले ८० प्रतिशत व्यक्ति हत्याका घटना नचिनेको व्यक्तिबाट हुने गरेको थियो तर अहिले ठ्याक्कै उल्टो भएको छ। ८० प्रतिशत व्यक्ति हत्याका घटना चिनेजानेकै, आफन्तबाटै हुने गरेको छ।’
नागरिक सुरक्षामा चुकिरहेको छ सरकार
जुनकुनै पार्टीले सरकार चलाए पनि सुशासन र नागरिक सुरक्षाको प्राथमिकता पहिलो हुन्छ। ‘सरकार नागरिकलाई सुरक्षा प्रत्याभूति गराउन तयार छ’, सरकारको नेतृत्व गर्ने नेताहरूले भन्ने यही नै हो।
तर दैनिकरुपमा नागरिकको हत्या भइरहेको छ। जसले समाज सुरक्षित छैन भन्ने देखाइरहेको छ। रातमा होस् वा दिनमा घरबाट निस्किएपछि सुरक्षित घर फर्किन पाइन्छ वा पाइँदैन नागरिकमा त्रास छ।
होली (चैत ११ गते)का दिन ललितपुरमा दुई युवाको चक्कु रोपेर हत्या भयो। बोलाबोल गर्दै गर्दा राजधानी क्षेत्र भित्रको एक होटलमा दुई युवाको सामूहिक हत्या हुँदा प्रहरी प्रशासनले चालसमेत पाउन सकेन।
राजधानी क्षेत्रमा नै नागरिक सुरक्षित हुनु नसक्नु सरकार नागरिकलाई सुरक्षा दिन कति असक्षम भएको छ भन्ने देखाउने दृष्य हुन्। प्रहरी तथ्यांकले दिनमा नै दुई जनाको हत्या हुने गरेको देखाउँछ।
नेपाल प्रहरीको केन्द्रीय कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा ५ सय ९० जनाको र आव २०७९/८० मा ५ सय एक जनाको हत्या भएको छ।
यसरी हत्याको शृङ्खला नै भइरहँदा यस्ता घटना न्यूनीकरण गर्न सरकार सक्षम देखिएको छैन। वर्षदिनमै ५ सय बढीको हत्या हुने अवस्था रहँदा सरकारले ठोस योजना ल्याएको छैन।
किन मानिस–मानिसकै हत्या गर्छ?
पछिल्लो समय जतिपनि आपराधिक घटनाहरु घटिरहेका छन्, ती सबै सरकारको असक्षमता रहेको बताउँछिन्, समाजशास्त्री मिना उप्रेती।
उनले मानिस एकले अर्कोको हत्या गर्ने अवस्थामा पुग्नुका पछाडिका विभिन्न कारण हुने भएपनि ती कारण सबै सरकारको असक्षमताले गर्दा हुने गरेको उनको भनाइ छ।
अर्का समाजशास्त्री माधव गौतम पश्चिमा संस्कृतिको प्रभाव नेपालमा बढ्दै जाँदा यस्ता आपराधिक मानसिकता बढ्दै गएको बताउँछन्। ‘पश्चिमा संस्कृतको यहाँ प्रभाव बढ्दै गयो। पश्चिमा संस्कृतिको विकास हुँदा यहाँ नैतिक शिक्षा पतन भयो। आदर–सम्मान हराउँदै गयो,’ उनले भने, ‘कसैले कसैको आदर गरेन, सम्मान भएन भने समाजमा नैतिक स्खिलन बढ्दै गयो र आज समाज आपराधीकरण भइरहेको छ।’
देशमा भएको बेरोजगार, बढ्दै गएको एकात्मक परिवार, महँगीको मार, सामाजिक सञ्जालमा बढ्दै गएको विकृति आदि कारणले मानिस आपराधिक बन्दै गएको गौतमको भनाइ छ। उनले सरकारले समयमै यसको निराकरण खोजेन भने अवस्था यस्ता विकृति बढ्दै जाने बताए।
प्रहरी अनुसन्धानबाट पनि प्रेममा विछोड, वैदेशिक रोजगार, एकात्मक परिवार, आर्थिक, शैक्षिक कारणले गर्दा मानिस आपराधिक बन्दै गएको देखाउँछ। सामान्य रिसिबीले गर्दासमेत हत्याको घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली बताउँछन्।
‘अहिले मानिसहरु सानोसानो कुरा सहन सक्ने अवस्थामा देखिँदैनन्। मानिसलाई धेरै कुराले गाँजेको छ, वैदेशिक रोजगार बढ्दो छ, एकात्मक परिवार बढिरहेको छ, आर्थिकसँगै शिक्षा तथा धेरै कारणले असर गरिरहेको छ,’ उनले भने, ‘सामाजिक सञ्जालका कारण संसारको पहुँचमा पुगेकाले मान्छेले राम्रो कुरा ग्रहण गर्दैन र नराम्रो कुरा ग्राहण गर्ने अवस्थाले पनि यस्ता आपराधिक घटना बढ्दो छ।’
साना–साना घटनामा पनि मानिस आवेगमा आउने गरेको उनले बताए। उनले यस्तो घटना न्यूनीकरण गर्नका लागि नैतिक शिक्षा बढाउन जरुरी रहेको बताए।