नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणकाे निष्पक्ष छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले जिम्मेवारीबाट बाहिरिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसद बडुले छानबिन नसकिँदासम्म जिम्मेवारीबाट बाहिरिनुपर्ने बताएका हुन्।
उनले भने, ‘धेरैजसाे सहकारीकाे बचतकर्ताहरूले राखेकाे पुँजी अपचलन भइराखेकाे छ। सहकारीका बचतकर्ताहरू निकै पीडामा छन्। पोखरा, बुटवललगायतका केही सहकारीहरूकाे १० करोड रकम भन्ने आएकाे छ। त्याे रकम अन्य प्रयाेजनकाे लागि ग्यालेक्सी टिभी सञ्चालनकाे लागि गोरखा मिडिया नेटवर्कमा १० कराेड आउन हुन्थ्याे कि हुँदैन थियाे याे छानबिनकाे कुरा हाेला। त्यसमा १ करोड रूपैयाँ रवि लामिछानेको नाममा जम्मा भएकाे भन्ने आएको छ। यसमा छानबिन भइरहेको छ। यदि याे हाे भने छानबिन निष्पक्ष बनाउन र विश्वसनीय बनाउन, छानबिन नसकिँदासम्म उहाँ जिम्मेवारीबाट बाहिर हरिदिनुहुन्छ भन्ने हाम्रो अपेक्षा हो।’