सुरक्षित गर्भपतनले थपेको खुसी

Breaknlinks
Breaknlinks

कान्छी छोरी ८ कक्षामा पढ्दै थिइन्। जेठो छोरा १२ कक्षाको परीक्षा सकिएर बसेका थिए। निजी कम्पनीमा अधिकृत स्तरको जागिर खाने कल्पना (परिवर्तित नाम) को परिवार सुखी परिवारको रुपमा परिचित थियो। श्रीमतीको जागिर, श्रीमान मझौला व्यापारमा संलग्न। आर्थिक अभाव थिएन। जिम्मेवारीअनुसार परिवारका सबै सदस्य व्यस्त थिए। खुसी खोज्नका लागि अन्त जानु परेन। सिंगो परिवार आफैँमा खुसीको मुहान थियो।

प्राय महिनाको १३ देखि १७ गतेको बीचमा रजस्वला हुने कल्पनाको यसपाली भएन। ‘दुई/चार दिन ढिला होलाजस्तो छ’, उनले सोचिन्, ‘पहिला पनि कहिलेकाहीँ यस्तो हुन्थ्यो।’ एक हप्तासम्म बाटो हेरिन्। फेरि पनि भएन। महिनादिन बित्यो, सुरसारै छैन। श्रीमान-श्रीमतीबीच गर्भ जाँच गर्ने सल्लाह भयो। नजिकैको मेडिकलबाट गर्भ जाँच गर्ने ‘किट’ ल्याइन् र पिसाब चेक गरिन् ‘पोजेटिभ’ देखियो।

रिपोर्ट पोजेटिभ देखिएपछि गर्भवती महिलामा देखिने लक्षण आफैँमा देखिएजस्तो लाग्यो उनलाई। हुर्किसकेका दुई बच्चाकी आमा भइसकेकी कल्पनालाई फेरि सन्तान जन्माउने रहर थिएन। थप बच्चा नजन्माउने विषयमा श्रीमान-श्रीमतीबीच पहिल्यै सहमति भएको थियो।

सल्लाह र सहमतिविपरीत गर्भवती भएपछि अब के गर्ने भन्ने उपाय खोज्ने क्रममा गुगल सर्च गर्न थालिन् कल्पनाले। सुरक्षित गर्भपतनको बारेमा थप बुझिन्। मेडिकल र सर्जिकल दुई विधिबाट गर्न सकिने रहेछ गर्भपतन।

उनको गर्भ बसेको ६ हप्ता मात्रै भएको थियो। मेडिकल विधिबाटै गर्भपतन हुने जानकारी पाएपछि सुरक्षित गर्भपतनका लागि औषधि बेच्ने मान्यता पाएको सूचीकृत स्वास्थ्य संस्थामा गइन् र किनिन्, मिफेप्रिस्टोन र मिसोप्रोष्टोल। कसरी प्रयोग गर्ने भन्नेबारे गुगलबाट जानकारी लिनुको अतिरिक्त मेडिकल सञ्चालकसँग पनि परामर्श लिएकी थिइन्।

औषधि प्रयोग गरेको २४ घण्टाभित्र सहजै उनको गर्भपतन भयो। तर, निकै गार्‍हो अनुभव गरिन्। उनले सोचेकी थिइन्, सामान्य हुन्छ। अफिसमा छुट्टी लिएकै थिइनन्। गार्‍हो भएपछि फोनबाटै बिदा लिइन्। औषधि खाएको दोस्रो दिन त अस्पताल नै जानुपर्छ कि क्या हो जस्तो गरेकी थिइन्। रक्तस्राव हुँदा आत्तिइन् पनि, भोलिपल्ट अलि आराम भयो। चौथो दिन सामान्य अनुभव गरिन् र पाँचौँ दिन त अफिसै जान सक्ने भइन्। ‘म यस्सै आत्तिएँ, खासमा सामान्य रहेछ’, आफ्नो अनुभव शेयर गर्दै उनले भनिन्, ‘सुरक्षित गर्भपतनकै कारण मेरो परिवारमा अर्को खुसी थपिएको छ।’

पाँचौँ दिन अफिस पुगिन्। ‘के बिरामी?’ सहकर्मीको साझा प्रश्न थियो। हल्का ज्वरो आएको भनेर टारेकी कल्पनाले महिला कर्मचारीलाई भने सुनाइन्, सुरक्षित गर्भपतन गराएको कुरा। त्यसपछि थाहा पाइन्, उनका अन्य तीन विवाहित सहकर्मीले पनि यही विधिद्वारा यसअघि नै गर्भपतन गराइसकेका रहेछन्। उनीहरु पहिलाकै अवस्थामा तन्दुरुस्त थिए। सहकर्मीका कुरा सुनेपछि उनी थप ढुक्क भइन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सुरक्षित गर्भपतन सबैभन्दा सुरक्षित चिकित्सा प्रक्रियामध्ये एक हो। सुरक्षित गर्भपतनले गम्भीर स्वास्थ्य समस्या निम्त्याएको कुनै प्रमाण छैन। स्त्रीरोग विषेशज्ञ डा. श्रीराम खड्काका अनुसार नेपाल सरकारले १० सातासम्मको गर्भपतनलाई औषधिको सेवनले गर्भपतन गर्न पाउने नियम बनाएको छ र यो नियम व्यवहारिक पनि छ।

स्त्रीरोग विषेशज्ञ डा. अनुपमा सुवाल मेडिकल विधिबाट गर्भपतन गर्दा महिलाहरुमा स्वास्थ्य सुरक्षासम्बन्धी कुनै जोखिम नरहेको धारणा राख्छिन्। गर्भमा भएको भ्रुण जन्माउने/नजन्माउने अधिकार गर्भवती व्यक्तिसँग रहेको धाराणा राख्दै उनी भन्छिन्, ‘अहिले धेरै महिलाहरु सुरक्षित गर्भपतनको विषयमा सचेत हुँदैछन्, यसले मातृ शिशु मृत्युदर पनि घटाएको छ।

सुरक्षित गर्भपतनका बारेमा नेपाली महिलाहरु सचेत र जानकार हुँदै गएपनि सामाजिक संरचनाका कारण कतिपय महिलाहरु खुल्न नचाहने धारणा राख्छिन् समाजशास्त्री डा. मिना पौडेल। उनको अनुभवले भन्छ, ‘सुरक्षित गर्भपतनका विषयमा महिलाहरुले खुलेर कुरा गर्ने हो भने यो दर अझै बढेर जान्छ।’

सुरक्षित गर्भपतनका विषयमा महिलाहरु खुल्नु भनेको समाजकै लागि राम्रो हुने धारणा राख्दै उनी भन्छिन्, ‘सुरक्षित गर्भपतनका विषयमा महिलाहरुले आफ्ना भोगाइ मात्रै नलजाई सुनाउने हो भने पनि अन्य महिलालाई प्रेरणा हुन सक्छ।’ गाउँ-ठाउँमा राम्रो जानकारी नभएकै कारण कतिपय महिलाहरुले असुरक्षित गर्भपतन गराउँदा ज्यानसमेत गएको अनुभव छ उनीसँग।

अहिले त गर्भपतनले कानुनी मान्यता पाएको छ। कुनै समय यस्तो पनि थियो, गर्भपतन गरेकै कारण महिलाहरु जेल जीवन भोग्न विवश हुन्थे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखाको एक तथ्यअनुसार २०५९ अघिसम्म जेलमा रहेकामध्ये २० प्रतिशत (५ जनामा १) गर्भपतनसम्बन्धी कसुरमा थिए।

ग्रामीण समुदायका, निरक्षर, कमजोर आर्थिक अवस्था भएका महिलाहरु गर्भपतन अभियोगमा जेल जीवन भोग्न विवश थिए। तर, अहिले अवस्था फरक छ। गर्भपतनले कानुनी मान्यता पाइसकेको छ।

सन् १९९८ को तथ्याङ्क अनुसार स्त्रीरोग र प्रसूतिसम्बन्धी समस्या आधाभन्दा बढी असुरक्षित गर्भपतनका कारण हुन्थ्यो। तर, अहिले स्थिति फेरिएको छ। सेन्टर फर रिसर्च अन इन्भाइरोमेन्ट हेल्थ एण्ड पपुलेस एक्टिभिष्ट (कृपा)का अनुसार गर्भपतनले कानुनी मान्यता पाएपछि नेपालको मातृ मृत्युदरमा उल्लेख्य कमी आएको छ। सन् १९९५ मा प्रति १ लाख जीवित जन्ममा मातृमृत्यु दर ५८० रहेकोमा सन् २०१३ मा आइपुग्दा यो दर १९० रहेको छ।

नेपालमा सन् २०१४ मा करिब ३ लाख २३ हजार गर्भपतन भएको अनुमान गरिएको छ। यो संख्या १५ देखि ४९ वर्ष उमेर समूहका प्रति १ हजार महिलाहरुमा ४२ गर्भपतन (गर्भपतनको दर) हुन आउँछ।

सन् २०१४ मा नेपालमा गरिएको यो गर्भपतनको वार्षिक दर हाम्रो जस्तै परिवेश भएका छिमेकी राष्ट्रहरु बंगलादेश (प्रति १ हजारमा ३७) र पाकिस्तान (प्रति १ हजारमा ५०) को बीचमा रहेको छ। नेपालमा भएका यी गर्भपतनहरुमध्ये आधाभन्दा अलि कम (४२ प्रतिशत) मात्र सरकारले गर्भपतन गर्नका लागि कानुनी रुपमा मान्यता दिइएका स्वास्थ्य संस्थाहरुमा हुने गरेका छन्।

कल्पनाजस्तै धेरै महिलाहरु सुरक्षित गर्भपतनको विषयमा सचेत मात्रै छैनन्, चनाखो पनि हुँदै गएका छन्। समाजमा चेतनाको स्तर बढ्नुको साथै कानुन पनि गर्भपतनमैत्री हुँदै गएकाले असुरक्षित गर्भपतनको क्रम घट्दै गएको छ। यसैलाई उपलब्धिको रुपमा लिनुपर्ने धारणा राख्छिन् डा. सुवाल।

प्रकाशित मिति: : 2024-03-22 11:54:00

प्रतिकृया दिनुहोस्