‘नाई, मलाई त्यही केटी चाहिन्छ…’, कुनैबेला नेपालमा प्रकाश पौडेलको यो जिद्दीवाला गीत चर्चित थियो। त्यसयता धेरै समय बितिसक्यो। धेरैले यो गीत नै बिर्सी सके, गायकको नाम त सम्झने कुरै भएन। तर, पनि यो गीतको सान्दर्भिकता भने नेपालमा सधैँ भइरहेकै हुन्छ।
कुनै जिद्दीवाल पात्र र प्रवृत्तिको उदाहरण दिनु पर्यो भने मानिसहरू यो गीत सम्झिहाल्छन्। प्रसङ्ग रवि लामिछानेको हो। अहिले उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र देशको उपप्रधान तथा गृहमन्त्री हुन्।
दलका रूपमा उनको दल देशकै चौथो ठूलो दल हो। सरकारको वरियतामा पनि उनी चौथो नम्बरमै छन्। प्रधानमन्त्री प्रचण्डपछाडि दुई उपप्रधानमन्त्री महासेठ र श्रेष्ठ छन्, त्यसपछिको रोलक्रम उनकै हो।
यो संसद्को सुरुवाती दिनमै गठित प्रचण्ड सरकारमा गृहमन्त्रालय लिएर उपप्रधानमन्त्री भएका उनी बिनानेपाली नागरिकता रास्वपा सभापति, सांसद हुँदै गृहमन्त्रालयको कमान्ड सम्हाल्ने उपप्रधानमन्त्री भए।
देशको सिङ्गो कानुनी व्यवस्थालाई पूरै छलेर एक किसिमका जादु नै गरे भने पनि हुन्छ। तर, यी जादुवालको सक्कली अनुहार सर्वोच्च अदालतले देखाइ दियो। त्यसपछि, उनी पुनः नेपाली नागरिक हुनुपर्ने परिस्थिति सिर्जना भयो। यस क्रममा उनी बुमर्याङमा परे र सबै गुमाए।
यही बीचमा त्रिशङ्कु संसद्को अंकगणित बुझिसकेका थिए उनले। उनी ओली बा र नानीको बा दुवैको गुड बुकमा परिसकेका थिए। उनकै लागि तुरुन्तै उपचुनाव गरियो। लोक रिझ्याइँका यी वाचाल खेलाडी नेपाली नागरिककै रूपमा उपचुनाव जितेर आए।
चुनाव जितेपछि उनले फेरि पुरानै गृहमन्त्रालयको कमान्डसहित उपप्रधानमन्त्रीको माग राखे। त्यसका लागि अनेक निन्जा टेक्निक पनि लगाए। तर, यस बीचमा उनको अर्को कर्तुत सार्वजनिक भयो। उनले अमेरिकी राहदानी राखेर पुरानै नेपाली नागरिकताबाट नेपाली राहदानी पनि लिएका रहेछन्। प्रहरीले यसको छानबिन गरिरहेकोले उनलाई स्वार्थ बाझिने मन्त्रालयमा ल्याउन नहुने मनस्थितिमा प्रचण्ड पुगे।
तर, यसको सट्टा प्रचण्डले उनीविरूद्ध दोहोरो राहदानीको मुद्दा नचलाउने निर्णय गरेर अभयदान दिए। त्यो अभयदान रविको गर्दनमाथि झुण्ड्याइएको तरवारजस्तै हो। यो तथ्य बुझेका रवि त्यो तरबार झर्नबाट रोक्न प्रचण्डसँग गोप्य मन्त्रणामै रहिरहे। त्यसैको पटाक्षेप हो, प्रचण्डले गठबन्धन फेर्दा रविले थापिदिएको काँध। यो काँध थापिदिए बापत फेरि उनले पुरानै गृहमन्त्रालयकै जिद्दी दोहोर्याए।
वास्तवमा यो जिद्दी प्रकाश पौडेलको ‘नाई मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीतभन्दा कुनै पनि मानेमा कम थिएन। आखिर रविलाई किन गृहमन्त्रालय नै चाहिएको हो ?, उनी किन त्यसका लागि यति मरिहत्ते गरेर लागे। नानीका बा भनेर प्रचण्डलाई धारे हात लगाउने रवि किन उनै नानीको बाको हातमा लागेको फोहर सफा गरिदिन तयार भए ? प्रश्नहरूको लामो सूची बन्छ।
तर, जति नै प्रश्नहरूको लम्बेतान सूची बने पनि उत्तरका लागि भने धेरै सोचविचार गर्नै पर्दैन। सरकारले चाहने हो भने रवि कुनै पनि बेला पक्राउ पर्न सक्छन्। उनले अमेरिकी नागरिक भएकै बेला नेपालको पुरानो नागरिकता प्रयोग गरेर यति धेरै गैरकानूनी काम गरेका छन् कि उनलाई पक्राउ गर्ने कुनै अनुसन्धान नै गर्नु पर्दैन। दोहोरो राहदानी त छँदै छ, सहकारीको सदस्य नै नभई त्यसबाट पैसा झिकेर गोरखा मिडिया नेटवर्कको १५ प्रतिशत सेयर लिएका छन्।
अमेरिकी नागरिक भएकै बेला नेपाली नागरिककै रूपमा बैंक खाता खोलेका छन्, कम्पनी खोलेका छन्, व्यापार व्यवसाय गरेका छन्, श्रीमतीसँग पारपाचुके गरेका छन्, नयाँ श्रीमतीसँग विवाह दर्ता गरेका छन्। के गरेका छन् भन्दा पनि के गरेका छैनन् भन्ने अवस्था छ।
यीमध्ये कुनै पनि एक गैरकानूनी काम सर्वसाधारण नेपालीले गरेको भए यतिबेला ऊ जेलको चिसो छिँडीमा सडिसकेको हुन्थ्यो। तर, त्रिशङ्कु संसदमा २१ सांसदसहित देशको चौथो ठूलो दलको सभापति भएकै कारण उनी जेल जाने त कुरै छोडौँ, त्यही जेलको विभागीय मन्त्री भएर सलाम खाइरहेका छन्।
उनलाई यो अभयदान दिन सत्ताका लागि जे पनि गर्ने नेपालका तीन ठूला दल कांग्रेस, एमाले र माओवादीका सुप्रिमोहरू तछाँडमछाँड गरिरहेका छन्। यो संसद्को कार्यकालको एक वर्ष नबित्दै यी तमाम दृश्य मञ्चन भइसकेका छन्।
तर, जे भए पनि रविको समस्या घट्ने वाला छैन। किनकि, उनको विगत अत्यन्तै विवादास्पद छ। विवादास्पद व्यक्तिको निजी जीवन येनकेन चले पनि सार्वजनिक जीवन चल्नै सक्दैन। केही समयका लागि चलेजस्तो भए पनि त्यो टिकाउ हुँदैन; प्रकारान्तरमा ‘पुनः मुसिक भवः’ नै हुने हो।
अहिले पनि उनीविरूद्ध सहकारी ठगी मुद्दाको अनुसन्धान भइहरेको छ। जुन प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ, अहिले उनी तिनै प्रहरीको विभागीय मन्त्री भएर सलामी खाइरहेका छन्, उनीहरूकै सुरक्षा घेरामा छन्। पहिलो त ठगी मुद्दाको अभियोग लागेर अनुसन्धान भइरहेको व्यक्ति मन्त्री नै हुनु नपर्ने हो।
अझ, त्यसमा पनि ठगी मुद्दाको अनुसन्धान गरिरहेकै प्रहरीको विभागीय मन्त्री त हुनै नहुने हो। सिँधै हेर्दा पनि यो सर्वथा स्वार्थ बाझिने विषय हो। एक किसिमले भन्ने हो भने यो जति सुशासनको बर्खिलाप केही पनि हुनै सक्दैन।
एकातिर सरकार सुशासनको डिङ हाँकिरहेको छ भने अर्कोतिर त्यही सरकारको क्याबिनेटमा चौथो बरीयतामा रहेको मन्त्री भने स्वार्थको द्वन्द्व हुने मन्त्रालयको कमान्ड सम्हालिरहेको छ। र, त्यही मन्त्रीले डेलिभरी र सुशासन मात्र दिने हैन कि अनेकौँ भ्रष्टाचार र काण्डको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही पनि गर्नु छ।
यो चरम विरोधाभासका बीचमा छन् रवि लामिछाने। उनको आफ्नो विवादास्पद विगत नै उनको सबैभन्दा कमजोर कडी हो। त्यही कडी समातेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा उनको राजीनामा मागिसकेको छ। त्रिशङ्कु संसद् छ र त्यो संसद्को सबैभन्दा ठूलो दल रविको राजीनामा मागेर संसद् अवरुद्ध गरिरहेको छ। यो अवरोध छिचोलेर अगाडि बढ्न रविलाई फलामको चिउरा चपाउनु जस्तै छ।
गृह लिनुमा आफ्नो कालो विगत दबाउने हैन कि सुशासन र डेलिभरी दिने थियो भन्ने पुष्टि गर्नु छ। अझ गाँठी कुरा त के हो भने उनी जनतामा व्याप्त निराशा, कुण्ठा र हतासाको जादुमय सम्बोधन गर्छु भनेरै संसदमा पुगेका छन्। नेपाली जनतामा पटक्कै धैर्य छैन, उनीहरूलाई रातारात त्यो पनि व्यक्तिगत रूपमै हरेक समस्याको उत्कृष्ट सम्बोधन चाहिएको छ।
‘पुरानाले त्यो गरेनन्, म गर्छु’ भनेर पुगेका रविलाई ती समस्या सम्बोधन नगरी धरै छैन। तर, अहिलेको स्थिति यस्तो छ कि उनी आफूलाई जोगाएर ती सबै समस्याको सम्बोधन गर्न सक्ने अवस्थामै छैनन्। अझ, त्यसमा पनि कम्युनिष्टको बर्चश्व रहेको सरकारमा बसेर दक्षिण र पश्चिमको गुड बुकमा रहेको कांग्रेससँगको पौठेजोरीमा जीत आफ्नो पक्षमा पार्न किमार्थ पनि सजिलो छैन।
रवि आफैमा समस्याका डङ्गुर हुन्। जो आफैँमा समस्याको डङ्गुर हुन्छ, उसले अर्काको समस्याको समाधान दिन सक्ने सम्भावना नै रहँदैन। त्यसैले यो सरकारमा बसेर उनले गर्ने भनेको आफूलाई बचाउने र कांग्रेसलाई सरकारबाट बाहिर राखेर कम्युनिष्टहरूलाई सहकार्य गर्ने परिस्थितिको निर्माण गरिदिने मात्र हो। उनको यो कार्यबाट कांग्रेस उनीसँग थप चिढिने छ। वैचारिक हिसाबले रवि दक्षिणपन्थी हुन् र उनको पार्टी तथाकथित प्रजातन्त्रवादी भने पनि मूलतः दक्षिणपन्थी नै हो। उनको लागि कांग्रेस नै वैचारिक हिसाबले नजिकको शक्ति हो।
अहिले वामपन्थी गठबन्धनको सरकारमा गएर उनले अप्रत्यक्ष रूपमा वामपन्थी शक्तिलाई नै बलियो बनाउने हुन्। यो भनेको एक किसिमको कालिदाश प्रवृत्ति नै हो।
अहिलेको अवस्थामा रवि नै रास्वपा र रास्वपा नै रवि हो। रविको जादुले बनेको यो पार्टी अहिले उनको कालो विगत छोप्ने सेतो टालोको काम गरिरहेको छ। तर, ढिलो चाँडो त्यो टालो पनि कालो नै हुने छ किनभने, रविको कालो विगत कुनै पनि किसिमको साबुनले धोएर सेतो हुने खालकै छैन। यो ज्ञान चतुर रविलाई थाहा नहोला भन्न सकिन्न। किनकि, देश खाएर शेष भएका यी जादुगरलाई संसारलाई ढाट्न सकिए पनि आफूलाई ढाँट्न सकिँदैन भन्ने राम्ररी थाहा छ।
गर्दनमाथि तरबार झुन्डिएको यस्तो अप्ठ्यारो स्थितिमा रहेका रविले यो सरकारमा रहेर खासै केही गर्न सक्दैनन्। त्यसपछि उनका सामु या त केही गर्न दिएनन् भनेर बाहिर निस्कने या त यो नै आफ्नो अन्तिम अवसर हो भनेर पुरानै ड्याङको मुला हुने भन्ने बाहेक तेस्रो विकल्प छैन।
यसले गर्दा उनका लागि मिसन ८४ नखाउँ भने दिनभरीको सिकार खाऊँ भने कान्छो बाबुको अनुहार जस्तै हुने निश्चित छ। अहिले नै पनि रविको लोकप्रियताको पारो पहिलाभन्दा धेरै तल झरिसकेको छ। उनका पछि लागेका धेरै ‘घण्टी फ्यान’ निराश भएर बालेन शाह नै ठीक भन्न थालिसकेका छन्। २०८४ सम्म बालेनले अहिले जतिकै क्रेज जोगाइराख्न सके भने त्यतिबेला उनी नयाँ हुन्छन् भने रवि र उनको रास्वपा पुरानो भइसकेको हुनेछ।
२०८४ को आम चुनावमा वामपन्थीहरू कम्तीमा पनि एउटै गठबन्धन बनाएर चुनावमा जाने परिस्थिति निर्माण हुँदै छ। यदि यसरी वैचारिक आधारमै ध्रुवीकरण भएर वामपन्थी गठबन्धन बन्ने हो भने अभाव, विभेद, अशिक्षा र पछौटेपनजस्ता वामपन्थी उर्वर–एजेन्डा बाँकी रहेको नेपालमा वामपन्थीहरूलाई सत्ताबाट बाहिर राख्न सहज छैन।
अर्कोतिर वैचारिक हिसाबले कांग्रेसले दक्षिणपन्थी दलहरूको मोर्चा बनायो भने रविका लागि कुनै ठाउँ नै बाँकी हुँदैन। २०७९ को चुनावमा गैरवैचारिक गठबन्धन हुँदा एकातिर अन्तरपार्टी मत विनिमय हुन सकेको थिएन भने अर्कोतिर पुराना बाइबाइ र नयाँ हाइहाइको भाष्य निर्माण भएको थियो। त्यसैको फाइदा उठाएर वाचाल रवि र रास्वपाको अप्रत्याशित उदय भएको थियो। त्यसयताको दिशा र दशा हेर्दा रवि र रास्वपाका लागि २०७९ को चुनावी परिणाम नै न भूत न भविष्य नहोला भन्न सकिन्न।
अमेरिकी नागरिक भएकै बेला रविले पुरानो नेपाली नागरिकता प्रयोग गरेर जे जस्ता गैरकानूनी काम गरेका छन्, ती सबै रविको गर्दनमाथि झुन्डिएका तरबार हुन्। कुनै न कुनै दिन ती तरबार एक–एक गरेर गर्दनमाथि खस्नेछन् र रविको जीवन पुनः मुसिक भवःको अवस्था दुखान्त हुनेछ। अहिले रविको स्थिति भनेको निभ्न लागेको बत्ती चम्केजस्तै मात्र हो। यो भनाइ उनी र उनका शुभचिन्तकका लागि अप्रिय लागे पनि यही नै तीतो सत्य हो।