सरकार पुनःगठनसँगै भएका महत्वपूर्ण कामहरूले उज्यालो भविष्यलाई संकेत गर्छ- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताएका छन्।

बाह्रखरी मिडियाद्वारा आज पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’का विजयीहरूलाई पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री दाहालले हजारौँ नयाँ ‘स्टार्टअप’ र उद्यमशीलता कार्यक्रमसुरु गरिने बताएकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

‘आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ,’ प्रधानमन्त्रीले भने, ‘सुस्त कर्जा प्रवाह, मध्यमवर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ।’

वर्तमान सरकारले देशको हितमा सही कार्य गर्नेछ भन्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य भएको स्पष्ट पारे।

सरकार पुनःगठनसँगै पुँजीबजारमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै प्रधानमनत्रीले वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट रहेको बताए।

‘रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन्,’ प्रधानमन्त्रीले भने, ‘पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक सङ्ख्या कम्तीमा दोब्बर बनाउने लक्ष्य लिइनेछ।’ उनले सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिकमैत्री बनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिने विश्वास दिलाए।

अघिल्लो वर्ष ऊर्जा र उत्साहका साथ आफूले कामको थालनी गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले थालेका ती काम पूरा गर्न र गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण गरिएको बताए। ‘गत वर्ष महत्वपूर्ण उपलब्धि प्राप्त भएका छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘तर मेरो सङ्कल्प र हुटहुटीअनुसार ती पर्याप्त छैनन् भन्ने बुझेर नै नयाँ गठबन्धनको निर्णयमा पुगेको छु। सरकार पुनःगठनको प्रारम्भिक चरणमै केही महत्वपूर्ण कामहरू भएका छन्, यसले सरकारको उज्यालो भविष्यलाई नै सङ्केत गर्दछ।’

प्रकाशित मिति: : 2024-03-16 15:26:00

प्रतिकृया दिनुहोस्