प्रधानमन्त्री प्रचण्डले पाए तेस्राे पटक विश्वासकाे मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्राे पटक विश्वासकाे मत प्राप्त गरेका छन्।

बुधबार नेपालकाे संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रधानमन्त्रीले प्रस्ताव पेश गरेका थिए।

जसअनुसार उनको पक्षमा १ सय ५७ र विपक्षमा १ सय १० मत खसेको छ। मतविभाजन प्रक्रियामा १ मत दिन्न भन्नेमा खसेको छ। 

मतविभाजन प्रक्रियामा जम्मा २ सय ६८ सांसद सहभागी भएका थिए। बैठकमा सभामुख देवराज घिमिरेले मतविभाजन परिणाम सुनाउँदै प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त भएको जानकारी गराए।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो। संविधानत: कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए। उनले २०७९ पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक प्रतिनिधिसभामा रहेका ९९ प्रतिशत बढी मत प्राप्त गरेका थिए। एक जना राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मात्र विपक्षमा मत दिएका थिए।

संसद्मा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उनको नाम लेखिएको छ। त्यसबेला नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायतका सबै दलले उनलाई विश्वासको मत दिएका थिए।

राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो। नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए। सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते दोस्रो पटक पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए। सो दिन प्रतिनिधिसभामा भएको मतदानमा उनले १ सय ७२ मत प्राप्त गरेका थिए। उनको विपक्षमा ८९ मत परेको थियो।

यही फागुन २१ गते गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)सहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन्।

सरकार विस्तारसमेत भइसकेको छ।

प्रकाशित मिति: : 2024-03-13 15:35:00

प्रतिकृया दिनुहोस्