माधव नेपाललाई ओलीको फोन: अब मिलेर जानुपर्छ

file photo : getty image
file photo : getty image

एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार दिउँसो टेलिफोन संवाद गरेको सत्ता गठबन्धनका नेताहरूले जनाएका छन्।

नवगठबन्धनमार्फत् सहकार्यको प्रस्ताव अघि बढाउने क्रममा अध्यक्ष ओलीले पुरानो सत्ता गठबन्धन टुटेपछि एक्लिएका नेता नेपाललाई ‘स्वास्थ्य लाभको कामना’सहित नेकपा एसलाई नयाँ गठबन्धनमा स्थान दिनेबारे आफू सकारात्मक रहेको सन्देश दिएका हुन्।

‘कांग्रेससँगको गठबन्धन टुटेपछि माधवलाई के गर्ने होला! भन्ने एकखाले तनाब नै थियो। यसबारेमा प्रधानमन्त्रीजी र ओली कमरेडबीच कुराकानी नभएको होइन। तर, ओली कमरेडले नै माधव कमरेडसँग टेलिफोनमा कुराकानी गर्नुभयो,’ बालुवाटारमा सहभागी माओवादीका एक नेताले भने, ‘ओली कमरेडले माधव कमरेडलाई यसरी फोनमा कुराकानी गर्नु भनेको सकारात्मक सन्देश हो।’

प्रधानमन्त्री ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई भेट्न कोटेश्वर जानुअघि ‘ओली–नेपाल’बीच टेलिफोन कुराकानी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्लेले पुष्टि गरेका छन्।

अध्यक्ष ओलीले ‘प्रचण्डको प्रस्तावमा आफू सहमत’ भएको सुनाउँदै नेपाललाई भनेका थिए, ‘माधव कमरेड तपाईंलाई स्वास्थ्य लाभको कामना छ। अहिले केहिबेररमा तपाईंकहाँ प्रधानमन्त्रीजी आउँदै हुनुहुन्छ, उहाँको प्रस्तावमा मेरो पनि सहमति छ। अब मिलेर जानुपर्छ।’

प्रकाशित मिति: : 2024-03-05 09:06:00

प्रतिकृया दिनुहोस्