रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन्।

बालुवाटारमा बसेको नयाँ गठबन्धनद्वारा गठित कार्यदल बैठकमा रास्वपालाई गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको महामन्त्री मुकुल ढकालले जनाएका छन्।

लामिछाने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ गठबन्धनको सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्न लागेका हुन्।

कांग्रेस–माओवादीको सत्ता गठबन्धन भत्किएपछि सभापति लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार धाइरहेका छन्।

स्रोतका अनुसार ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेको सहमतिमा फेरि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने पक्का भएको हो।

त्यस्तै, नयाँ गठबन्धन बनेसँगै एमालेबाट पदम गिरि, माओवादी हितबहादुर तामाङ र डीपी अर्याल बिनाविभागीय मन्त्री बनेका छन्।

नयाँ समीकरण बन्नुअघि दिनदिनै बसिरहेकाे तीन चारको बैठकमा लामिछानेले आफ्नो दाबी उपप्रधान र गृह मन्त्रालयमा रहेको बताएका थिए। रास्वपाले विगतको निरन्तरता, परिणाम निकाल्न सक्ने र समावेशी ढंगले मन्त्री चयन गर्ने प्राम्भिक मापदण्ड बनाएको छ।

प्रकाशित मिति: : 2024-03-04 11:33:00

प्रतिकृया दिनुहोस्