सकियो काँग्रेस महासमिति बैठक: गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय, अबका चुनाव एक्लै लड्ने 

नेपाली काँग्रेसको महासमिति बैठक सकिएको छ। ४ दिनसम्म ललितपुरको गोदावरीमा चलेको बैठक खासगरी आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित रह्यो। 

बैठकका लागि पार्टीका महामन्त्री गगन थापाले तयार पारेको प्रतिवेदनमा केन्द्रीय पदाधिकारीबीच लामो समय बहस र रस्साकस्सी चल्यो। यद्यपि थापाले लेखेको प्रस्ताव बैठकमा पेश भयो र पारित पनि भयो। 

त्यसमा उनले आगामी निर्वाचनमा नेपाली काँग्रेस गठबन्धन नगरी एक्लै चुनाव लड्ने प्रस्ताव गरेका थिए। पार्टी सभापतिलगायत पदाधिकारीबीच त्यसमा विवाद थियो। 

बैठकले उनीसहित अरु चारजना पदाधिकारीले पेश गरेको प्रस्ताव पनि पारित गरेको छ। बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, लेखा समिति संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन र नेता डा प्रकाशशरण महतले अर्थसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। 

अहिलेको गठबन्धन सरकारलाई निरन्तरता दिने र सरकारलाई सहयोग गर्ने प्रतिवद्धतासहित विभिन्न ११ वटा निर्णय गर्दै महासमिति बैठक सकिएको छ। 

बैठक समापन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन सरकारलाई सहयोग गर्नु नेपाली काँग्रेसको प्रमुख दायित्व भएको बताए। 

‘अहिलेको गठबन्धन सरकारमा नेपाली काँग्रेस प्रमुख घटक हो। त्यसैले सरकारलाई सहयोग र प्रोत्साहन गर्नु नेपाली काँग्रेसको प्रमुख दायित्व हो’ देउवाले भने ‘साथीहरूले पेश गरेको र बैठकले पारित गरेका प्रस्तावहरूमा यहाँ आएका सुझावहरूसहित संशोधन गरेर केन्द्रीय समितिले निर्णय गर्नेछ।’

प्रकाशित मिति: : 2024-02-22 19:32:00

प्रतिकृया दिनुहोस्