प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबिनको दायरामा आएको नेपालकाे इतिहासको यो सबैभन्दा ठूलो प्रकरण भएको बताएका छन्। उनले सुशासनको संकल्प गरेर आफूले अभियान चलाएको स्पष्ट पारे।
प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी काण्ड यही सरकारले छानबिन गरेको र अदालतमा मुद्दा दायर गरेको जानकारी गराए।
‘माननीयज्यूले भनेकाे जस्ताे कुर्सी हल्लिने डर मलाई छैन। सरकार जाला कि भन्ने डर मलाई विल्कुलै छैन। कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबिन नै सुरु हुने थिएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सम्मानित सदनमा म दोहाेर्याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी दाखिला गरी तारेखमा छुटेका अभियुक्तहरूलाई थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट समेत अनुसन्धान अघि बढाइएको प्रधानमन्त्री प्रचण्डले सदनलाई जानकारी गराए।
प्रधानमन्त्रीले पछिल्लो पटक ६० केजी सुन तस्करी प्रधानमन्त्री कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अपराधको स्वरुप सङ्गठित प्रकृतिको देखिएपछि नेपाल प्रहरीअन्तरगतको केन्द्रीय अनुसन्धान व्यूरोमा पठाई अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरिएको बताए।
विमानस्थलबाट हुने सुन तस्करीको कारण र नियन्त्रणका उपायहरू पत्ता लगाउन र अपराधको जालो जरैबाट उखेल्न जाँचबुझ गरी प्रतिवेदन दिन उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा सुनको अबैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन भइ काम गरिरहेको उल्लेख गरे।