घर–घरमै जन्मदर्ता

यसैलाई भन्छन् स्थानीय सरकार

सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्‍याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो।

'छारीको न्वारनमात्र सकिएको थियो। जन्मदर्ता वडामै बनाएर आज पुर्‍याउन आउनुभएछ। वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो,' बेबिकाले भनिन्, 'यहाँ कति जनालाई त जन्मदर्ता ३५ दिनभित्र बनाई सक्नुपर्छ भन्ने पनि थाहा छैन। वडाले आफैं बनाई दिएर घरमै ल्याइदिन थालेछ खुसी लाग्यो।'

सूर्योदय–५ वडा कार्यालयले बिहीबारदेखि बच्चाको जन्मदर्ता घर–घरमै पुर्‍याउन सुरुआत गरेको छ।

चेतना अभावका कारण समयमा बच्चाको जन्मदर्र्ता नगराएपछि विगत दुई वर्षदेखि जन्मदर्ता नबनाएका बालबालिका खोजेर बनाई दिन थालेको उक्त वडाले यस वर्षदेखि जन्मिएको ३५ दिनभित्रमा घरमै जन्मदर्ता पुर्‍याई दिने अभियान सुरुआत गरेको हो।

'नानी जन्मिने बित्तिकै पहिले सुत्केरी भेट्न वडा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरूको टोली जानुहुन्छ,' वडाध्यक्ष उर्गेन बम्जनले भने, 'उहाँहरूले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ को अनुसूची १० बमोजिम सूचना फारम भरेर वडालाई उपलब्ध गराउनुहुन्छ। उहाँहरूले आमा र बाबुको विवाह दर्ताको फोटो र बच्चाको फोटो खिच्नुहुन्छ।'

वडाध्यक्षका अनुसार, जन्मदर्ता जनप्रतिनिधि र कर्मचारीको टोली घरमै पुगेर अभिभावकालाई हस्तान्तरण गरिन्छ।

वडामा रहेका सातवटा सामुदायिक र दुईवटा संस्थागत विद्यालयमा पुगेर दुई वर्षअघि विद्यार्थीको जन्मदर्ता जाँच गर्दा कतिपयको नभएको पाइएपछि यो विषयलाई वडाले संवेदनशील रुपमा लिइएको बम्जन बताउँछन्।

प्रकाशित मिति: : 2024-02-16 06:47:00

प्रतिकृया दिनुहोस्