प्रचण्डकाे अपिल- माओवादी युद्धका सहयात्रीहरु एकताबद्ध हाैँ, ढिलो नगरौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा योगदान दिने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन्।

जनयुद्ध दिवसको सन्दर्भ पारेर माओवादी केन्द्रले आजदेखि राजधानीमा आयोजना गरेको प्रथम विधान सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले परिवर्तनका लागि बलिदान गर्ने योद्धालाई आरोपित गर्ने अधिकार कसैसँग पनि नभएको उल्लेख गरे।

सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘एकै मोर्चा र केन्द्रमा एकताबद्ध गर्न आग्रह गर्दछु। ढिलो नगरौँ, समीक्षा गरौँ, नयाँ लहर सिर्जना गरौँ। माओवादी युद्धका सहयात्रीहरु आउनुहोस्। यो मोर्चालाई एकताबद्ध गरौँ।’

सामाजिक न्याय र सुशासन कायम गरेर अगाडि बढ्ने अवसर भएको भन्दै उनले सङ्कल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गरे। जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको तथा सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे।

जनयुद्धको दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतको निर्णयलाई स्वीकार गर्नुपरेको यथार्थ सुनाए।

सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरुले यस बिदालाई भव्यरुपमा मनाउने उल्लेख गर्दै उनले यस दिनलाई उच्च सम्मान गर्नुपर्ने बताए।

‘नेपालको ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णायक भूमिका प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरामा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन’, उपाध्यक्ष श्रेष्ठले भने, ‘शान्ति प्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रुपान्तरण गरेको छ, उहाँकै दूरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मात्र हाम्रो लक्ष्य नभएको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने बताए।

समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धिको रक्षा, सुशासनसहितको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको बताए।

प्रकाशित मिति: : 2024-02-13 17:15:00

प्रतिकृया दिनुहोस्