एकै दिन रोकियो चार जोडीको विवाह

मकवानपुरमा एकै दिन चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ। कैलाश गाउँपालिका, मनहरि गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा हुन लागेको बालविवाह रोकिएको हो। 

एकै दिन चार बालविवाह रोकिएको बाल हेल्पलाइनका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिए। कैलाश–३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका–३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो। 

मनहरि–४ की १५ वर्षीया बालिका र हेटौँडा–३ बसामाडीका १८ वर्षीय युवकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ। मकवानपुरगढी–२ की १८ वर्षीया र हेटौँडा–१७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको ज्ञवालीले बताए। 

बालविवाह हुन लागेको सूचना प्राप्त भएपछि अनुगमन गर्दा रोक्न सफल भएको उनको भनाइ छ। सबैभन्दा बढी कैलाश र राक्सिराङमा बालविवाह हुने गरेको ज्ञवालीले बताए। 

चारै १३, १४, १५ र १८ वर्षीया बालबालिकालाई थप परामर्शका लागि सिबिन बाल हेल्पलाइनको संरक्षणमा राखिएको बाल हेल्पलाइन कार्यक्रम अधिकृत सम्झना अधिकारीले जानकारी दिए।

जनप्रतिनिधि, अभिभावक, बालबालिका र बाल हेल्पलाइन मकवानपुर, हिमराइट्स् मकवानपुर तथा प्रहरीको संयुक्त टोलीले बालविवाह रोकेको उनले बताए। 

प्रकाशित मिति: : 2024-02-09 18:43:00

प्रतिकृया दिनुहोस्