८औँदेखि १०औँ पटक अप्रेसन गर्दा यहाँ एउटा सिस्टम बसिसकेकाे थियाे। त्यही भएर हामीले सिक्ने माैका पायाैँ। र, यही सिस्टम बसल्नु नै हाम्राे लक्ष्य थियाे। त्यही भएर सिस्टम बसाल्नका लागि बाहिरबाट डाक्टर ल्याउनुपर्ने थियाे।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले कलेजाे प्रत्याराेपण सेवा सुरु गरेकाे पाँच वर्ष भयाे। सन २०१९ बाट प्रत्याराेपण सुरु भएतापनि काेराेना महामारीका कारण प्रभावति भइरहेकाे थियाे। तथापि, त्यसबीचमा शिक्षण अस्पतालले १० पटक कलेजाे प्रत्याराेपण गरेकाे थियाे।
गत बिहीबार ११औँ पटक कलेजाे प्रत्याराेपण भयाे। त्याे पनि नेपाली डाक्टरहरुकाे टिमबाट।
त्यसअघि भएका १० वटा प्रत्याराेपणमा शिक्षण अस्पतालले भारतीय डाक्टरहरुकाे सहयाेग लिएकाे थियाे। तर, यसपटक भने शिक्षण अस्पताल विदेशी डाक्टरहरुकाे सहयाेगबिनै प्रत्याराेपण गर्न सफल भयाे। जुन नेपालकाे स्वास्थ्य क्षेत्रकाे एउटा ठुलाे फड्काे हाे।
गत हप्ता भएकाे कलेजाे प्रत्याराेणकाे नेतृत्व गरेका शिक्षण अस्पतालका ग्यास्ट्राे तथा कलेजाे सर्जन डा. रमेशसिंह भण्डारीसँग बिएलकर्मी मिनु गाेलेले कलेजाे प्रत्याराेपणका सवालमा कुराकानी गरेकी छन्।
प्रस्तुत छ, कुराकानीकाे सम्पादित अंश:
त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालमा कलेजो प्रत्यारोपण सेवा कसरी चलिरहेकाे छ?
त्रिवि शिक्षण अस्पतालले सन् २०१९देखि कलेजो प्रत्यारोपण सुरु गरेको हो। नेपाली डाक्टरहरुद्धारा अहिलेसम्म ११औँ पटक प्रत्यारोपण भइसकेको छ।
सुरुका दिनमा तीनदेखि चारवटा गरेको थियो। भने, यही बिचमा कोभिड भयो। कोभिडले गर्दा बन्द गर्नु परेको थियो। त्यसपछि लगात्तै दुई वर्षपछि ११औँ पटक भयो। सुरुमा भारतीय विज्ञहरुको सहयाेगमा गरेका हाैँ। यही आउनुहुन्थ्यो सबै टिम। बिस्तारै-बिस्तारै नम्बरहरु कम भएको थियो तर पनि मेजर पोस्टहरु उहाँहरुले नै गर्नुहुन्थ्यो।
११औँ चाहिँ हामी आफैँ गर्याैँ। बिरामी पनि राम्रो भएर जानु भयो। पहिलोपटक नेपाली चिकित्सकहरुबाट कलेजो प्रत्यारोपण सफल भयाे। कलेजो प्रत्यारोपण गर्न यति धेरै टिम चाहिन्छ कि सायाद अरु कुनैमा हुँदैन। यसमा सर्जनहरुको ठुलो टिम हुन्छ।
क्रिटिकल रेडियोलोजी, प्याथाेलोजी, नर्सिङ स्टापको टिम हुन्छ। ठ्याक्कै भन्नुपर्दा ५० देखि ६० जनाको टिम चाहिन्छ। सुरुमा अप्रेसन गर्नेदेखि डिस्चार्ज गर्दासम्मको यति धेरै टिम हुन्छ यसमा।
कलेजाे प्रत्याराेपण कसरी हुन्छ?
यसपटक ११औँ बिरामी यहाँ आउनु भएकाे थियाे। हामीले बिरामीकाे अवस्था हेर्छाैँ प्रत्याराेपणका लागि ठिक छ कि छैन भनेर। यस पटककाे प्रत्याराेपणका लागि चाहिँ हामीले तीन महिनादेखि बिरामी हेरिरहेका थियाैँ। बिरामीलाई कलेजो दिने मान्छे पनि हुनुहुन्थ्याे। बिरामी ४१ वर्षकाे र दिने श्रीमती ३९ वर्षकाे हुनुहुन्थ्याे।
उहाँहरुसँगकाे कुराकानीपछि हामीले सबै विभागका कर्मचारीहरुसँग सल्लाह गर्याैँ। कलेजाे दिने मान्छेले पनि बाँकी रहेकाे कलेजाेले काम गर्ने भएकाेले दिन तयार हुनुहुन्थ्याे। सबै कुराबाट राम्राे हुन्छ भन्ने भएपछि प्रत्याराेपण अगाडि बढेकाे हाे।
त्यसपछि हामीले जनवरी १२ मा प्रत्यारोपण गरेको हो। बिहानको ७ बजेदेखि सुरु गरेको ११ देखि १२ घण्टा लाग्यो। टोटलमा यो नरमल हो। कुनैमा १५ घण्टा जति पनि लाग्न सक्छ। समयको हिसाबले पनि राम्रो भयो। त्यतिखेर अलि गाह्रो हुन्छ। तर, पनि अप्रेसन सफल भयो।
दिने व्यक्तिकाे दश दिनमा डिस्चार्ज भयाे। लिने व्यक्तिलाई एक हप्तासम्म आइसियूमा राखेर २० दिनमा डिस्चार्ज गरेका थियौँ। अहिले दुवै जनाकाे स्वास्थ्य अवस्था राम्राे छ।
अबदेखि नेपाली डाक्टरहरुबाटै प्रत्याराेपण हुन्छ हाेइन त?
एउटा सुरुवात हुनु नै सबैभन्दा ठुलो कुरा हो। सन् २०१६मा भक्तपुर एच.ओ.टी.मा भएको थियो। टिचिङमा २०१९देखि भयो।
एक किसिमले हेर्ने हो भने पाँच वर्ष भइसक्यो तर पनि हामी बाहिरी विज्ञहरुको भरमा थियाैँ। धेरै समयदेखिकाे नलेज (ज्ञान) र काम गरेको अनुभवले हामीलाई सबै कुरा थाहा भइसकेकाे थियाे। सबै सिस्टम हेर्दा पनि हामीले गर्न सक्छाैँ भन्ने हिसाबले गरेका हाैँ। राम्रो भयो। सफल पनि भयो। यो भनेको हामीले आफैँ पनि गर्न सक्ने रहिछाैँ भन्ने थाहा भयो। अब यसैबाट हामी आफैँले निरन्तरता दिन्छाैँ।
पहिला चाहिँ किन विदेशी डाक्टर ल्याउनु पर्थ्याे?
सुरुवाती समयमा हाम्राे आफ्नै टिम थियाे। तर, याे प्राेग्राममा संसारभरिका सबै सिस्टम पर्छन्। त्यसैले यसमा एकदमै अनुभवी डाक्टरहरु ल्याएर सुरु गर्नुपर्छ।
सफल होस्, राम्रो होस् भन्ने चाहना हुन्छ। एउटा सिस्टम बसाल्नु पर्छ। अप्रेसन गर्ने भनेको खाली एउटाको झिकेर वा काटेर अर्कोमा हाल्ने मात्रै होइन। त्यहाँ के गर्ने? कसो गर्ने? सिस्टमहरु कसरी चलाउने? अप्रेसन रुम कसरी राख्ने? शल्यक्रियाहरुलाई कसरी अगडि बढाउने? लगायत हरेक कुराहरु हुन्छन्।
८औँदेखि १०औँ पटक अप्रेसन गर्दा यहाँ एउटा सिस्टम बसिसकेकाे थियाे। त्यही भएर हामीले सिक्ने माैका पायाैँ। र, यही सिस्टम बसल्नु नै हाम्राे लक्ष्य थियाे। त्यही भएर सिस्टम बसाल्नका लागि बाहिरबाट डाक्टर ल्याउनुपर्ने थियाे।
कलेजाे प्रत्याराेपणका लागि मानिसहरु बाहिर जाने गर्नुहुन्छ किन हाेला?
पहिलो कुरा नेपालमा कलेजो प्रत्यारोपण सुरु भएको थिएन। र, पनि भर्खर-भर्खर सुरु भएको थियो। सायाद कति मान्छेहरुलाई विश्वासको कमी पनि थियाे हाेला।
पहिलाे कुरा त यहाँ भर्खरै त हुँदैछ, त्यसमाथि याे धेरै खर्चिलाे अप्रेसन हाे, खर्च नै भइसकेपछि अप्रेसन पनि सफल हाेस् भन्ने चाहनाअनुसार मानिसहरु बाहिर जानु भएकाे हाेला। त्याे त स्वभाविक नै हाे। तर, अब बिस्तारै नेपालमा हुन थालेकेा छ, अब कम जानुहुन्छ हाेला नि।
कलाेजाे प्रत्याराेपणलाई नियमित गर्न राज्यले के गर्नुपर्छ?
अहिले महिनामा एकदेखि दुई वटासम्म कलेजो प्रत्यारोपण हुन्छ। हामीसँग अनुभवी जनशक्ति र प्रविधिकाे अभाव छ। अब यसकाे लागि राज्यकाे ठुलाे सहयाेग चाहिन्छ।
अनि अहिले भनेकाे किड्नीजस्तै कलेजाे प्रत्याराेपणमा पनि सरकारले साैलियत दियाे भने सामान्य आर्थिक अवस्था भएकाहरु पनि उपचार अभावमा मर्नु पर्ने थिएन। खर्च २५ देखि ३५ लाखसम्म हुन्छ। त्यसमा सरकारले केही सहयाेग गरेमा उपचारमा सहज हुने थियाे।
भनेपछि अहिले महिनामा २ वटासम्म प्रत्याराेपण सम्भव छ?
एक महिनामा दुई वटा गर्न सकिन्छ। यो भन्दा बढी गर्न हामीसँग ठाउँ पुग्दैन। कलेजोको प्रत्यारोपण गर्न धेरै ठाउँ चहिन्छ। धेरै सेवाहरु दिनुपर्छ।
बिरामी त धेरै आउनुहुन्छ हाेला तर महिनामा २ जनाभन्दा बढीकाे प्रत्याराेपण नहुने भयाे हाेइन त?
बिरामी त धेरै हुन्छ नि। हाम्रो अस्पतालमा डेटा नै छैन। यसाे हेर्ने हाे भने वर्षमा डेढ-दुई सय बिरामी प्रत्याराेपणका लागि आउनुहुन्छ। तर, पैसा अभाव, डाेनरकाे अभाव, अन्य राेगका कारण सबै जना प्रत्याराेपण गर्न तयार हुनुहुन्न। अहिले हामीसँग लामाे लिस्ट छैन जम्मा तीन-चार जना लाइनमा हुनुहुन्छ। अब बिस्तारै बढ्दै जान्छ हाेला।
कलेजाे प्रत्याराेपण किन गर्नुपर्छ?
विभिन्न कारणले मानिसकाे कलेजाे बिग्रिएकाे हुन्छ। वृद्ध मानिसमा हामीले सिराेसेस भन्छाैँ, त्याे भनेकाे कलेजाे बिग्रिएर लास्ट स्टेजमा भन्नु हाे। नरमल मानिसकाे पनि कलेजाे बिग्रिएकाे हुन्छ। अनि, फङ्सनहरुले काम कम गर्दै जान्छन्। त्यसपछि कलेजाेले काम गर्ने चान्स कम हुन्छ।
रक्सी सेवनले कलेजाेमा समस्या हुन्छ। भने, हेपटाइटिस बि इन्फेक्सनले तथा माेटाेपन र वंशाणुगत कारणले पनि समस्या हुन्छ। कहिलेकाँही क्यान्सरकाे कारण पनि कलेजाे प्रत्याराेपण गर्नुपर्ने हुन्छ।
कतिपय नरमल मानिसमा औषधिको असरले पनि समस्या हुन सक्छ। भने, बच्चाहरुमा जन्मजात पनि हुन सक्छ।
जन्मजात पनि?
विशेषगरी बढीमा समस्या बच्चाहरुलाई जन्मजात हुने हाे। अल्मेन्सको कमीले वा बनवाटले जस्तै: पित्तानलीहरु राम्रोसँग नबन्दा बच्चाहरुकाे कलेजाेमा समस्या देखिन्छ। यस्ता विविध कारणले बच्चाहरुकाे कलेजाे प्रत्याराेपण गर्नु पर्ने हुन्छ।
अब नेपाली डाक्टरहरुले अर्काेपटक पनि कलेजाे प्रत्याराेपण गर्न सक्छन्?
हामीले एउटा कलेजाे प्रत्याराेपण गरेर प्रमाणित गरिसकेका छाैँ। अब त हामीले गर्न सक्छाैँ भन्ने एउटा विश्वास छ।
अहिले डिस्चार्ज भएकाे बिरामीकाे धेरै लामाे समयकाे याेजना र अनुभवबाट गरेकाे हाे। यसकाे अर्थ हामी सफल भयाैँ, अब हामीले गर्न सक्छाैँ भन्नु हाे।
खर्च कति लाग्छ?
खर्चकाे कुरा ठ्याक्कै भन्न गाह्राे हुन्छ। खाली अप्रेसनमात्र नभएर यहाँ धेरै कुराहरु हुन्छन्।
म के भन्छु भने, कलेजो प्रत्यारोपण गर्न सुरुकाे जाँचदेखि डिस्चार्जसम्म २५ देखि ३५ लाखसम्म लाग्न सक्छ।
कलेजाे प्रत्याराेपणपछि स्वास्थ्यमा कस्ताे ख्याल चाहिन्छ?
कलेजाे दिने व्यक्तिले घर गएपछि चार-पाँच हप्ता आराम गर्नुपर्छ। गरुङ्गाे काम गर्नु हुँदैन। दैनिक कामहरु गर्दा भने केही फरक पर्दैन, जस्ताे: बाथरुम जाने, खाना बनाउनेसम्म गर्दा हुन्छ। यसले केही समस्या हुँदैन। दुई महिनापछि चाहिँ नरमल कामहरु गर्दा हुन्छ।
त्यस्ताे विशेष औषधि केही खानु पर्दैन। त्यसपछि नरमल्ली ९९ प्रतिशत पहिलाकाे अवस्थामा फर्किइन्छ।
लिने व्यक्ति भने पहिला नै बिराम भएकाे हुनाले अलि धेरै आराम गर्नु पर्ने हुन्छ। अस्पतालबाट दुई-तीन हप्तामा डिस्चार्ज गरिएकाे हुन्छ। औषधिहरु पनि धेरै खानुपर्ने हुन्छ।
केही डरहरु पनि हुन्छन्, जस्ताे इन्फेक्सन हुन सक्ने सम्भावना बढी हुन्छ। लिने व्यक्तिले त केही महिना नै राम्राेसँग ख्याल गर्नुपर्छ। डिस्चार्ज भए पनि समयमा औषधि खानु पर्यो। डाक्टरले भनेको समयमा फलाेअपमा आउनुपर्यो। चेक-जाँच गरिरहनु पर्यो। औषधि तल-माथि गर्नु भएन।
भीड-भाडमा नजानी, माक्स लगाउने, केही समस्या देख्ने बितिकै तुरुन्तै अस्पतालमा आउने गर्नुपर्छ। ६ महिनापछि नरमल हिँड्न, डुल्न, दाैडिन सक्ने गरी नरमल जिन्दगीकाे अवस्था हुन्छ।
बच्चा र ठुलाे मानिसमा उपचार खर्च एउटै हुन्छ?
खर्च त लगभग एउटै हाे। तर, बच्चाकाे अप्रेसन धेरै जटिल हुन्छ। बच्चाहरुकाे शरीर सानाे हुने हुँदा अप्रेसन गर्नै गाह्राे हुन्छ। तर, खर्चमा त्यस्ताे फरक फर्दैन, उस्तै-उस्तै हाे।
कलेजाे दिने मानिस के पहिलेकै अवस्थामा फर्किन्छ?
हुन्छ नि।
सुरुका केही हप्तामात्र गाह्राे हाे।
बिरामीलाई दिएर रहेकाे बाँकी कलेजाेले उहाँलाई पुग्छ भनेर पहिले नै अनुमान गरिएकाे हुन्छ।
कलेजो एउटा मात्रै हुन्छ। किट्नीजस्तो दुइटा हुँदैन। भगवानले हाम्रो शरीरलाई यस्तै बनाइदिएको छ। कलेजोलाई दुई भागमा बाँडन मिल्छ। त्यसैले दिने व्यक्तिकाे बाँकी रहेकाे कलेजाेले पहिलाकाे जस्तै नरमल काम गर्छ।
अन्त्यमा?
कलेजो प्रत्यारोपण नेपालकै चिकित्सकहरुबाटै टिचिङ अस्पतालमा सुरु गरेका छौँ। नेपालीले हामीलाई विश्वास गर्नु पर्यो। सकेसम्म आफ्नै देशमा सस्तोमै जटिल शल्यक्रिया भइरहेको छ। यो सेवा सबैले लिनुहोला सकेसम्म बाहिरी देशमा नजानुहोला।
फाेटाे/भिडियाे : शनि शाक्य