पञ्चा सिंहलाई किन पक्राउ गर्दैनन् गृहमन्त्री?

‘सत्तासीन माओवादी’निकट अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंह ‘सत्ता र शक्ति’को आडमा कानुन छल्दै उम्किरहेकी छन्।

‘१५ वर्षअघि भएको एउटा हत्याको घटना’मा मुछिएपछि उनी नेपाल प्रहरीको नजरमा ‘फरार आरोपीको सूची’मा छिन्।

प्रहरी स्रोतका अनुसार उनीसहित ६ जनाविरुद्ध जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जी जारी गरेको छ। तर पञ्चाविरुद्ध पक्राउ पूर्जी जारी भइसक्दा पनि प्रहरी–प्रशासन उदासिन देखिएको छ।

उनी नियमितजसो ‘पार्टी–संगठन’को सार्वजनिक कार्यक्रममै भेटिन्छिन्। काठमाडौँ प्रहरीका अनुसार उपत्यकामै रहेकी पञ्चा सिंह माउ पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठसितै हुन्छिन्।

‘पञ्चा कमरेड काठमाडौँतिरै हुनुहुन्छ। उहाँलाई कसले भन्छ फरार? हिजोअस्ति मात्रै बालुवाटार जानुभएको थियो। गृहमन्त्रीसँग पनि सम्पर्क भइरहेको छ। उहाँलाई फसाउने नियतले कतिपय मानिसहरू फरार–फरार भनिरहेका छन्,’ अखिल क्रान्तिकारीका एक पदाधिकारीले भने।

गृह मन्त्रालयका एक अधिकारीले बिएल नेपाली सेवालाई बताएअनुसार गृहमन्त्री श्रेष्ठले ‘प्रहरी प्रशासन’लाई पञ्चा सिंहलाई पक्राउ नगर्न दबाब दिएका छन्। प्रधानमन्त्री प्रचण्ड र माओवादी उपमहासचिव जनार्दश शर्माको निर्देशनपछि गृहमन्त्री श्रेष्ठ फरार भनिएकी पञ्चाबारे मौन रहेको र ‘तत्काल पक्राउ नगरियोस्’ भन्ने तहमा पुगेका छन्।

किन भागिरहेकी छन् पञ्चा सिंह?

२०६५ सालतिर कालिकोटका १७ वर्षीय युवक राजबहादुर मल्ल सुर्खेतस्थित जनमावि कक्षा १२ मा पढ्थे। विद्यार्थी राजनीतिप्रति चासो राख्ने उनी तत्कालीन अखिल क्रान्तिकारीका कतिपय गतिविधिको विरोध गर्थे।

त्योबेला पञ्चा सिंह सुर्खेत बहुमुखी क्याम्पसको इन्चार्ज थिइन्। त्योबेला माओवादीनिकट केही विद्यार्थी नेताहरूले ‘नक्कली शैक्षिक प्रमाणपत्र’ बोकेर उमावि र क्याम्पस धाइरहेका थिए।

विद्यार्थी नेताहरूको हातमा नक्कली शैक्षिक प्रमाणपत्र देखेपछि राजबहादुरलाई चित्त बुझेन। र, उनले सबैतिर विरोध गरे।

२०६५ फागुन १६ गते साँझ होटलबाट खाना खाएर कोठा फर्किंदै गर्दा राजबहादुरको छातीमा खुकुरी रोपिएको थियो। अस्पतालम लग्दैगर्दा उनको बाटोमै ज्यान गयो।

राजबहादुरको हत्यालगतै बुवा नरबहादुरले कालिकोटबाट सुर्खेत पुगेर प्रहरीमा किटानी जाहेरी दिए। उबेला राजबहादुरको हत्या अभियोगमा पञ्चासहित ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको थियो।

पञ्चा सिंह नेतृत्वको समूहले खुकुरी प्रहार गरी राजबहादुरको ज्यान लिएको जाहेरीमा उल्लेख छ। प्रहरी स्रोतका अनुसार माओवादीले पटकपटक सुर्खेत प्रहरीलाई दबाबमा राख्यो। र, हत्या आरोपीहरूलाई प्रहरीको आँखा छल्दै उम्काइरह्यो।

पञ्चा सिंहको समूहले हत्या गरेका राजबहादुरका बुवा नरबहादुरले १५ वर्षपछि प्रहरीमा पूरक जाहेरी दिए। किटानी जाहेरी परेका पञ्चा सिंह, पदमबहादुर रावल, बालकृष्ण सिंह, टंकबहादुर सिंह, बीरबहादुर मल्ल र अली कार्कीविरुद्ध दोस्रोपटक पक्राउ पुर्जी जारी भएपनि सत्ता र शक्तिको आडमा उनीहरू जोगिएका छन्।

उतिखेर पञ्चा सिंहको समूहले राजबहादुरलाई लखेटी–लखेटी हत्या गरेको एमालेनिकट अनेरास्ववियुका तत्कालीन नेताहरूले बताएका छन्। मृतकका बुबा नरबहादुर मल्लले उनी पक्राउ नपर्नुलाई चिन्ताको विषय भनेका छन्। छाेराकाे हत्याराहरूलाई जोगाउन राज्य नै लागिपरेको उनको दाबी छ।

प्रकाशित मिति: : 2024-02-06 21:15:00

प्रतिकृया दिनुहोस्