पूर्वमन्त्री बुढाथोकीको निधनमा कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा तीन दिनसम्म पार्टी कार्यालयमा झण्डा आधा झुकाउने भएकाे छ।

आज बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले बुढाथोकीको निधनमा आजदेखि २५ माघसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेकाे हाे।

साथै बैठकले पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने, माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको कांग्रेसले जनाएको छ।

कांग्रेसले बैठकले बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ।

संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासनमन्त्री बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा साेमबार निधन भएको थियाे।

२००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मिएका स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले स्मरण गरेको छ।

उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने जनाउँदै कांग्रेसले उनको निधनबाट पार्टी मर्माहत र स्तब्ध भएको जनाएको छ।

‘नेता केशवकुमार बुढाथोकीको निधनप्रति कार्यसमितिको यो आकस्मिक बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ।

साथै, स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: : 2024-02-06 12:16:00

प्रतिकृया दिनुहोस्