प्रमुख प्रशासकीय अधिकृतसहित काठमाडौँ महानगरपालिकाका केही कर्मचारीहरू मेयर बालेन साहको अघोषित ‘कारबाही’मा परेपछि अहिले महानगरमा कार्यरत कर्मचारीहरूको बिचल्ली हुन थालेको छ।
केही दिनअघि कर्मचारी नियुक्तिमा आफ्ना मान्छे ‘चलखेल गरेको’ भन्दै मेयर साहले आफ्नै सचिवालयका प्रमुखसहित तीनजना कर्मचारीलाई निलम्बन गरेका थिए।
त्योसँगै उनले उनीहरूको कामलाई राम्रोसँग निगरानीमा नराखेको र उनीहरूको ‘कीर्ते’काममा सहयोग गरेको भन्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी चढ्ने गाडी खोसिदिएका थिए।
बालेनले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई लिखितरुपमा कुनै ‘कारबाही’ वा स्पष्टीकरण सोधिएको पत्र भने दिएका छैनन्। तर गाडी खोसिएपछि त्यसैलाई आफूमाथि गरिएको कारबाही सम्झेर प्रमुख प्रशासकीय अधिकृत दुई सातादेखि कार्यालयमा उपस्थित भएका छैनन्।
अरु तीन जना कर्मचारीमाथि ‘छानबिन’ गर्न बालेनले एउटा समिति बनाएका छन् र त्यो छानबिन पूरा नहुँदासम्म ती कर्मचारीहरू निलम्बनमै रहनेछन्।
प्रमुख प्रशासकीय अधिकृत अधिकारी कार्यालय आउन छोडेपछि सीताराम कोइरालालाई ‘निमित्त प्रशासकीय’ अधिकृतको जिम्मेवारी दिइएको छ।
तर बालेनले कोइरालालाई आर्थिक अधिकार भने दिएका छैनन्।
‘उहाँ निमित्त कार्यकारी त हुनुभएको छ तर कुनै आर्थिक अधिकार भने उहाँलाई दिइएको छैन’, नगरपालिकाका एक पुराना कर्मचारी भन्छन्, ‘आर्थिक कारोबार गर्ने अधिकार नहुँदा अहिले नगरपालिका नै ठप्पजस्तो भएको छ।’
उनका अनुसार थुप्रै भुक्तानी, निकासी र अरु दैनिक खर्चहरू पनि रोकिएका छन्। कर्मचारीले तलब पनि खान पाएका छैनन्।
‘केही कर्मचारीले गर्दा महानगरका सबै कर्मचारीहरूले दुख पाएका छौँ’, उनी भन्छन्, ‘यो समस्या कहिले सकिने हो, नगरपालिका अस्तव्यस्त छ। त्यसमाथि तलa पनि खान नपाउँदै कर्मचारीकै बिचल्लीजस्तै भएको छ।’
यो समस्याका बारेमा भने कुनै कर्मचारीले मेयर बालेनसँग सिधै कुरा राख्न सक्दैनन्। यसअघि बालेनसँग ‘घनिष्ठ’ मानिएका प्रमुख प्रशासकीय अधिकृत अधिकारीमार्फत नै कर्मचारीहरूले आफ्ना गुनासाहरू पुर्याउँथे।
‘तर अहिले त हाम्रा कोही अभिभावक नभएकोजस्तो भएको छ। भएकालाई पनि सबै काम गर्ने अधिकार छैन’, ती कर्मचारीले भने।