गाजामा इजरायली आक्रमणमा दर्जनौँको मृत्यु

इजरायली आक्रमणमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ।

नयाँ मध्यस्थता सम्झौताअन्तर्गत प्यालेस्टिनी भूमिमा नयाँ सहायता प्रवेश गरेको र लडाकूहरूले बन्धक बनाएकाहरूको लागि औषधि आपूर्ति भएको समय यो नयाँ आक्रमण भएको मध्यस्थकर्ता कतारले जनाएको छ।

दक्षिणी सहर राफाको एउटै घरमा भएको आक्रमणमा परी १६ जनासहित बुधबार रातभरको आक्रमणमा ९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्यालेस्टिनी मन्त्रालयले भनेको छ,‘एउटा घरमा भएको आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्। घटनामा २० जना घाइते भएका छन्।’

दक्षिणी सहर खान युनिस र मध्य गाजामा प्यालेस्टिनी शरणार्थी शिविरमासमेत दर्जनौँ आक्रमण भएको मन्त्रालयले जनाएको छ। हडतालपछि बिहानै खान युनिसमाथि कालो धुवाँको मुस्लो देखिएको थियो।

इजरायलमाथि अक्टोबर ७ मा हमासले एक्कासी गरेको अकल्पनीय आक्रमणका कारण करिब एक हजार १४० जनाको मृत्यु भएपछि इजरायलद्वारा आक्रमण सुरु गरेको थियो।

इजरायली बमबारी र स्थलगत आक्रमणमा परी कम्तीमा २४ हजार ४४८ जना प्यालेस्टिनीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हमास र अन्य लडाकूहरूले अक्टोबर ७ मा भएको आक्रमणका क्रममा करिब २५० जनालाई बन्धक बनाएका थिए र तिमध्ये करिब १०० जनालाई युद्धविराम र बन्धकतथा कैँदी फिर्ता गर्ने सम्झौता अन्तर्गत फिर्ता गरिएको थियो भने अझै १३२ जना गाजामा रहेका छन्। बनधकमध्ये कम्तीमा २७ जना मारिएको विश्वास गरिएको छ।

फ्रान्स र कतारी मध्यस्थतापछि मङ्गलबार घोषणा गरिएको सम्झौताअनुसार बन्धक र सहायताका लागि आक्रमण हुनुभन्दा ‘केही घण्टाअघि’ औषधि गाजा प्रवेश गरेको कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले बताए।

दोहा र फ्रान्सले औषधि र खाद्यान्नसहित उपलब्ध गराएको ६१ टन सहयोग लिएर दुई विमान गाजाको सीमा नजिकै रहेको इजिप्टको एल–अरिश शहरमा आइपुगेको कतारले जनाएको छ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले यस सम्झौतालाई ‘राहतको अति आवश्यक क्षण’ को रूपमा स्वागत गरेको छ, जसअन्तर्गत ४५ बन्धकहरूले औषधि प्राप्त गर्ने अपेक्षा गरिएको छ।

फ्रान्सले ती औषधिहरू राफाको एक अस्पतालमा पठाइने र रेड क्रसलाई दिइने र बन्धकहरूलाई हस्तान्तरण गर्नुअघि समूहमा विभाजन गरिने बताएको छ।

यसैबीच, इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले गाजाको मुख्य दक्षिणी सहर खान युनिसमा हमास नेतृत्वलाई ध्वस्त पार्न सेनाले कडा प्रहार गरिरहेको बताए।

इजरायली सेनाले बुधबार एक सैनिकको मृत्यु भएको घोषणा गरेसँगै गाजामा अक्टोबरको अन्त्यमा जमीनी कारबाही सुरु भएयता मारिने इजरायली सैनिकको सङ्ख्या १९३ पुगेको छ।

प्रकाशित मिति: : 2024-01-18 16:22:00

प्रतिकृया दिनुहोस्